• १२ मंसिर २०८१, बुधबार

वीर अस्पतालकाे बदनाम गर्ने काम भित्रकै बिचौलियाले गरेका छन् : स्वास्थ्यमन्त्री बस्नेत

blog

सरसफाइमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीलाई कुचो, मास्क, पन्जासहितका सामग्री हस्तान्तरण गर्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं, कात्तिक २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालकाे बदनाम गर्ने काम अस्पताल भित्रकै केही बिचौलियाले गरिरहेको बताउनुभएको छ ।

शनिबार बिहान वीर अस्पताल सरसफाइ अभियानको शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले वीर अस्पतालकै तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र त्यतिले नपुगे मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पता भित्रकै बिचौलिया भएको दाबी गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘केही स्वार्थी कर्मचारी र बिचौलियाले वीर अस्पतालकाे बदनाम गर्ने गरेकाे बताउनुभयो । उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन् । यसमा सबै सजग रहनुपर्छ ।’’

देशको जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याति कमाएको वीर अस्पतालमा देशभरिकै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दाबी गर्नुहुँदै वीर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो । वीर अस्पतालमा मेहनतका साथ काम गरिरहेका कर्मचारी र कामै नगरी तलब खाने बिचौलिया बीचको विभेद छुट्याएर नेतृत्वले काम अनुसार अवसर प्रदान गर्नुपर्नेमा ध्यान दिन जरुरी रहेको मन्त्री बस्नेतले बताउनुभयो ।

केही समयदेखि वीर अस्पतालमा सुधार देखिएको बताउनुहुँदै मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि वीरमा विपन्नका लागि जनरल बेड निःशुल्क गरेको, ओपिडी बिहान ८ बजेदेखि नै सञ्चालन गरेको, अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाएको, भिआईपी, भिभिआईपी कक्ष थप गरेको र आर्थिक पारदर्शिता कायम गरेको जस्ता सुधारका काम गरेको दाबी गर्दै केही बिचौलियालाई राम्रो काम गरेको देखी सहन नसकेर वीरको बदनाम गर्दै हिँड्ने गरेको बताउनुभयो ।

वीर अस्पताल सधैँ सफासुग्घर हुनुपर्नेमा जोड दिनुहुँदै मन्त्री बस्नेतले सरसफाइका क्षेत्रमा पनि वीरले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेतले तिहारको बेला अरु ठाउँहरु सफासुग्घर र झिलिमिली बनाए जस्तै वीर अस्पतालमा पनि सफासुग्घर र झिलिमिली पार्न सरसफाइ अभियानको सुरु गरिएको र यो कार्य निरन्तर जारी रहने बताउनुभयो । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले आठ समूह बनाएर वीर अस्तताल सरसफाइ अभियान सुरु गरेको बताउनुभयो । सफाइ अभियानमा न्याम्समा पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, कर्मचारी सरसफाइ अभियानमा सहभागी भएका थिए । मन्त्री बस्नेतले सरसफाइमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीलाई कुचो, मास्क, पन्जासहितका सामग्री हस्तान्तरण गर्नुभएको थियो ।