• ११ मंसिर २०८१, मङ्गलबार

झिनियाँ बेचेर मनग्य आम्दानी

blog

तिहारमा झिनियाँको खपत अत्यधिक । तस्बिर : रासस

गलकोट, कात्तिक २५ गते । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् ।

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन् ।

विगत १० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला श्रेष्ठले बताउनुभयो । “तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ । अहिले म जस्ता दर्जनौँ महिला झिनियाँसहितका रोटीका परिकार बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तिहारमा मात्रै रू. चार/पाँच लाखको झिनियाँसहित अन्य तयारी रोटीको कारोवार हुन्छ ।”

यस्तै, १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आउनुभएकी मिरा श्रेष्ठले रोटीका परिकारको बिक्री भइरहेको बताउनुभयो । उहाँले यसपटक सेतो झिनियाँको उत्पादन बढाइएको जानकारी दिनुभयो ।

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । सिजनको व्यापारमा कमाएको रकमले वर्षभरि घरखर्च पुग्ने उद्यमीहरुको भनाइ छ ।

मिराले विगत १२ वर्षदेखि झिनियाँ, चिनी, फिनी, सेल र भेली रोटी तथा खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

“तिहारमा झिनियाँको व्यापार बढी हुन्छ । तिहार नआउँदै झिनियाँ बनाउँदै सुकाउन निकै व्यस्त भइन्छ । पहिला जस्तो नाफा त छैन, चामलको मूल्य बढेपछि नाफा थोरै भएको हो”, मिराले भन्नुभयो, “पछिल्लो समय झिनियाँसँगै चिनी तथा फिनी र तयारी सेलरोटीको माग उच्च छ । यसपटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन । झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ ।”

मिरासँगै उनका श्रीमान् र छोराले दसैँअघिदेखि रातदिन नभनेर विभिन्न रोटीका तयारी परिकारहरु बनाइराखेका छन् । तिहारका समयमा बढीमात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई भ्याइनभ्याइ छ । बजारका अधिकांश तयारी रोटीको माग महिला उद्यमीहरुले धान्दै आएका छन् ।

मिराले तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार बिक्रीबाट रू. सात लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमा तयारी रोटीको माग रहेको उहाँको भनाइ थियो ।

रङ्ग मिसाइएको झिनियाँ रोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यसपटक धेरै महिला उद्यमीले सेतो झिनियाँ उत्पादन बढाएका छन् ।

रङ मिसाइएको परिकारका कारण घातक रोग लाग्न सक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकालेसमेत अनुरोध गरेको छ । उपभोक्ताले भने रङ मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ । उद्यमीले खाद्य रङ मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ ।

बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रू. दुई सय ५० र सानोमा रू. एक सय ४० मा बिक्री हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुईथरी मूल्य कायम गरेर बिक्री भइरहेको छ । यस्तै, चिनी रोटी रू. ८०, फिनी रू. ७०, भेली रू. ५० र नमकिन रू. ५० मा बिक्री भइरहेको छ । रासस