गोकुल भुजेल
भोजपुर, कात्तिक २५ गते । पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम ट्रेल अर्थात् मुन्धुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
यात्राका क्रममा सबै उमेर समूहका लागि सहज रुट करिब ३१ सय मिटरको उचाइमा रहेको टेम्के डाँडाबाट देखिने मनोरम हिमालय दृश्य अवलोकन, पदमार्गमा निर्माण भएका संरचनाहरू, मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कार संस्कृतिका बारेमा अध्ययन अवलोकन, रैथाने ज्ञानको खुला विश्वविद्यालयका रूपमा अवस्थित, स्थानीय बालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृश्य, स्थानीय वनस्पति, जैविक विविधता, पशुपन्छीका बारेमा अध्ययन अवलोकन तथा नयाँ पदमार्गका रूपमा विकसित पदमार्गको विशेषताले भरिपूर्ण उक्त क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
खोटाङको सोकला गाउँपालिकाको तावाभन्ज्याङबाट सुरु हुने पदमार्ग भोजपुरको टेम्केडाँडा, चखेवाभन्ज्याङ, धेदे्र, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पापोखरीबाट पुनः मैयुङ भएर एकरोत, बाघखोर हुँदै भोजपुर टक्सार एयरपोर्टसम्म कुल १५३ किलोमिटर लम्बाइ रहेको छ । उक्त पदमार्ग यात्रा पूरा गर्न नेपालीलाई सरदर पाँचदेखि नौ दिन लाग्ने र विदेशीका लागि १० देखि २० दिनसम्म लाग्ने स्थानीयवासी बताउँछन् तर पर्यटकले छोटो दुरीको यात्रा भने तीनदेखि पाँच दिनमै पूरा गर्ने गर्छन् ।
उक्त क्षेत्रको विकासका लागि टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले आफूहरूले गुरुयोजना नै बनाएर काम गर्दै आएको उल्लेख गर्दै मुन्धुम ट्रेलले पालिका क्षेत्रमा पर्यटन विकास हुनुका साथै आर्थिक, सांस्कृतिक तथा धार्मिक विकास, प्रचारप्रसार तथा अध्ययन अवलोकन गर्न टेवा पुग्ने बताउनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “पर्यटकको विकाससँगै पालिकाले पदमार्ग क्षेत्रमा पर्यटन सूचना केन्द्र निर्माण, गोठ स्टेको व्यवस्था, खानेपानी तथा स्थानीय परिकार एवं खाद्यान्नको व्यवस्था, लालीगुराँसलगायत फूलहरूको वृक्षरोपण गर्नुका साथै पर्यटकको माग अनुसार भौतिक तथा अन्य संरचनाको विकास हुँदै आएको छ ।”
पूर्वकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले टेम्केमैयुङ गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा उक्त पदमार्गलाई समावेश नै गरी वार्षिक धेरै काम भएका छन् । यता, भोजपुर याक चौँरी कृषक महासङ्घ जिल्ला अध्यक्ष तथा मुन्धुम पदमार्ग क्षेत्रका अग्रज पाविहाङ राईले पदमार्गले जिल्लामा पर्यटन प्रवर्धन, स्थानीय उत्पादनको उपभोग, स्थानीय स्तरमा रोजगारीको सिर्जना, पूर्वाधार विकासलगायत थुप्रै कार्य भएको बताउनुभयो । उहाँका अनुसार पदमार्गका क्रममा यात्रा सहज, मनोरम भएसँगै निश्चित क्षेत्रमा हुन सक्ने जङ्गली जनावरको आक्रमण, पदमार्गमा रहेका आकर्षक क्षेत्र, बगैँचा, संरक्षण आदि गर्न आवश्यक रहेको समेत उहाँले औँल्याउनुभयो ।
आन्तरिक पर्यटक विशाल तामाङले मुन्धुम पदमार्गमा पर्यटकका लागि आवश्यकता अनुसार सबै नागरिकका लागि सहज बाटो, गोठ तथा होटल, खाने बस्ने व्यवस्था भएको बताउनुभयो । उहाँले यात्राका क्रममा बाह्य देश क्यानडा र अमेरिकासँगै आन्तरिक पोखरा, इटहरी, काठमाडौँलगायत क्षेत्रका पर्यटक भेट्दा यात्रा थप मनोरम र आनन्दित भएको उहाँले बताउनुभयो ।
यता आन्तरिक पर्यटक राजीव सापकोटाले साथीहरूसँग दसैँतिहारको बिदा मनाउन सोचेभन्दा धेरै राम्रो भएको बताउनुभयो । सहज पदमार्ग, मनोरञ्जनका लागि राम्रा स्थान, हिमालय दृश्य, पर्यावरणीय दृश्यका कारण आफूहरू ज्यादै खुसी भएको उहाँले बताउनुभयो । साथै उहाँले लोकल कुखुरा, चौँरीलगायत स्थानीय खाद्यान्नको परिकारको स्वाद परीक्षण गर्नुका साथै लागतको हिसाबले अन्य टे«ल जस्तो खर्चालुसमेत नभएको उहाँले बताउनुभयो ।
विद्यार्थी पर्यटकहरू एलिसा राई र नीता दङ्गालले बिदाको सदुपयोग गर्दै मुन्धुम गएको र उक्त क्षेत्रमा धेरै मनोरञ्जन तथा हिमाल एवं वातावरणीय आनन्द लिएको बताउनुभयो । साथै उहाँहरूले आफूहरू जस्तै आउन चाहने पर्यटकका लागि उक्त क्षेत्रका बारेमा देश विदेशसम्म प्रचारप्रसार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मानव बस्ती कम हुनुका साथै विकट मानिने मैयुङ क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै गोठवालाले स्थानीय परिकार, चौँरीको दुध, फापर, कोदो, गहुँको ढिँडो, लोकल कुखुरा, रायो, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् । मैयुङको हाँसपोखरीभन्दा माथि ढुङ्गाखर्केका मुन्धुम गोठस्टेका सञ्चालक दुर्गाधन राईका अनुसार पदयात्रामा आन्तरिक क्षेत्रसँगै बाह्य देश अमेरिका, कोरिया, जर्मनी, स्पेन, क्यानडालगायत क्षेत्रका पर्यटकले स्थानीय उत्पादनलाई मन पराउँदा आफूहरू दङ्ग हुने गोठस्टे सञ्चालकहरू बताउँछन् । जसले स्थानीय कृषकलाई आर्थिक उपार्जनमा टेवा पुगेको समेत राई बताउनुहुन्छ ।
यता चखेवा भन्ज्याङमा रहेको नमुना होटल एन्ड लजका सञ्चालक विशाल राईका अनुसार पदमार्ग क्षेत्रमा दैनिक ६० जनाभन्दा बढी पर्यटकको आवतजावत हुने बताउनुभयो । उहाँका अनुसार मुख्य गरी दसैँतिहारदेखि वैशाख जेठसम्म पर्यटकको घुइँचो हुने गर्दछ । हाल घुम्न आउने विद्यार्थी, बिदा तथा मनोरञ्जन गर्न आउने पर्यटक बढी मात्रामा रहेका छन् । अहिले विद्युत्, खानेपानी र शौचालयको अभाव भए पनि अहिलेसम्म काम चल्दै आएको गोठस्टे सञ्चालक राईले बताउनुभयो ।
कोशी प्रदेशले जारी गरेको गन्तव्य क्षेत्रमा उल्लिखित मुन्धुम पदमार्गको विकास र प्रवर्धनका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारले विशेष ध्यान दिने हो भने भोजपुरको पर्यटन प्रवर्धनमा उक्त पदमार्ग कोसेढुङ्गा बन्ने देखिन्छ ।