धीरेन्द्रप्रसाद साह
जनकपुरधाम, कात्तिक २५ गते । दसैँपछिको अर्को पर्व तिहार र छठको तयारीमा स्थानीय बासिन्दा लागेका छन् । तिहार सकिएलगत्तै छठ मनाउन समय कम हुँदा अहिलेदेखि नै छठको तयारी भइरहेको छ । मधेश प्रदेशका जिल्लासहित देशभरि तिहार र छठ मनाइँदै आएका कारण पनि यहाँ पर्वको तयारीमा सक्रियता बढेको हो ।
धनधान्यकी देवी लक्ष्मी माताको बास सफासुग्घरमा मात्र हुने विश्वासका साथ घरआँगनसहित वरिपरि सरसफाइ, रङरोगन र सजावटलाई प्राथमिकता दिइएकाले मानिसहरूको व्यस्तता बढेको छ । यस प्रदेशमा तिहारलाई दीपावली भन्ने चलन बढी छ । दीपावलीलाई लक्ष्य गरी घर तथा घरवरिपरि सरसफाइ गरेर चिटिक्क पारिएको छ । उद्योगी व्यवसायी आआफ्ना कलकारखाना, पसल सरसफाइमा जुटेको जनकपुरधामका व्यवसायी परमेश्वर साहले बताउनुभयो । तिहारका लागि आवश्यक उपभोग्य वस्तु तथा मनोरञ्जन एवं खुसियाली गर्न पटकाजन्य सामग्री फूलझारी, चिरचिरी, चक्कर, पटका खरिदबिक्री भइरहेको उहाँले बताउनुभयो ।
माटोको मूर्ति र दीप बनाउन व्यस्त
तिहारको तिथि नजिकिँदै जाँदा माटोको दीप (दियो) बनाउन र बिक्री गर्न कुमालेहरूको पनि व्यवस्ता बढेको छ । दीपावलीभरि जतिसुकै विद्युतीय दीप प्रयोगमा ल्याए पनि माटोको दीप पनि प्रयोग गरिने भएकाले यसको माग उच्च रहेको रमेश पण्डितले बताउनुभयो । घरमा पुरुषले माटोको दीप बनाउने र महिलाले नजिकको सहरबजार र टोल टोलमा घुमफिर गरी बेच्ने गरेको पाइन्छ । यस्तै कालिगडहरूले माटोको कलात्मक मूर्ति बनाएका छन् । गाउँबस्ती, टोल, सहरमा निजी तथा सार्वजनिक चोकमा तिहारका लागि माटाका विभिन्न कलात्मक मूर्ति बनाउन कालिगडहरू अहोरात्र खटिने गरेका छन् । तिहारमा लक्ष्मी, गणेश, सरस्वती, हनुमान, शिव, पार्वतीलगायतका मूर्ति बनाइने गरेको कालिगड बलराम खङ्गले बताउनुभयो ।
गाउँ र नगरका विभिन्न सार्वजनिक स्थानमा भव्य रूपमा तिहार (दीपावली) मनाउन आर्थिक सहयोग सङ्कलन गरी माटोको मूर्ति प्रतिस्थापन गरेर तिहारको दीपावली, गोवद्र्धन पूजा र भाइटीका गरी तीन दिनसम्म बेलुका भव्य मेला तथा धार्मिक मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको मनोज मुन्धडाले जानकारी दिनुभयो ।
पटका पड्काए कारबाही
मधेश प्रदेशमा तिहार र छठलाई उल्लासमय बनाई मनोरञ्जन गर्न पटकाजन्य पदार्थको बढी प्रयोग हुने गरेको छ । यसको प्रयोगले आर्थिक, शारीरिक क्षतिसँगै आगो लाग्ने सम्भावना बढी हुने गरेकाले जिल्लास्थित स्थानीय प्रशासनले पटका तथा अति प्रज्वलनशील पदार्थ नपड्काउन तथा बिक्रीवितरणसमेत नगर्न सार्वजनिक सूचना जारी गरेको छ । सूचनाको अवज्ञा गरी कानुनविपरीतका कार्य गरेको पाइए कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ । प्रशासनले जुवा, तास नखेल्न र नखेलाउनसमेत आग्रह गरेको छ । प्रशासनले नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्न मर्यादित रूपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । देउसीभैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्य राति १० बजेसम्म मात्रै गर्न भनिएको छ ।
छठको पनि तयारी
तिहारलगत्तै छठ मनाउन अहिलेदेखि नै तयारी गरिएको छ । छठका लागि आवश्यक बाँसका सामग्री कोनिया, ढाकिया, नरिवल, नाङ्लोलगायतका सामग्री खरिदबिक्री भइरहेको छ । जलाशय स्थलको सरसफाइ र सजावटका लागि टेन्ट निर्माण पनि सुरु गरिसकेको जनकपुरधामका राकेश चौधरीले बताउनुभयो ।
सयपत्री फूलको कारोबार
तिहार र छठलक्षित सयपत्री फूलको कारोबार यहाँ बढेको छ । सयपत्री फूल उत्पादनप्रति आकर्षण नबढे पनि तिहार र छठमा यसको प्रयोग अनिवार्य हुँदा माग बढ्ने गर्छ । मागबमोजिम सयपत्री फूलको खेती नहुने गरेकाले अन्यत्रबाट ल्याई भण्डारण गरिरहेको व्यापारी काजल गिरीले जानकारी दिनुभयो । तिहार र छठका लागि प्रदेशका विभिन्न जिल्ला तथा भारत पूर्वी बङ्गालको सिलिगुडीबाट आयात गरेर शीतभण्डारमा सयपत्री फूल भण्डारण गरिएको जानकारी दिँदै उहाँले अहिलेसम्म १५ हजार लरी भण्डारण गरिएको र अझै भण्डारण गरिने बताउनुभयो ।