• २१ वैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेश लोक सेवा, अन्य प्रदेशका जनशक्ति धेरै

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, कात्तिक २५ गते । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले अहिलेसम्म सिफारिस गरेका कर्मचारी यहाँका भन्दा अरू प्रदेशका धेरै छन् । 

प्रदेश लोक सेवा आयोग गण्डकीबाट मधेश प्रदेशका ३७७ जना सिफारिस भएका छन् । कर्णाली प्रदेशवासीले गण्डकीवासीकै हाराहारीमा परीक्षा पास गरेका छन् । गण्डकीका ११ जिल्लाबाट २५३ जना सिफारिस भएकोमा कर्णालीका २२४ जनाले यहाँ जागिरमा नाम निकालेका छन् । 

गण्डकी प्रदेश लोक सेवा आयोग ऐन, २०७६ अनुसार स्थापित आयोगको वार्षिक प्रतिवेदन अनुसार गएका दुई आर्थिक वर्षमा कोशी प्रदेशबाट ८०, बागमतीबाट १०३, लुम्बिनी र सुदूरपश्चिमबाट १८२/१८२ जना सिफारिस भएका छन् । 

जिल्लागत तथ्याङ्कमा पनि आफ्नै प्रदेशमा गण्डकीका बासिन्दाको उपस्थिति कमजोर छ । दुई वर्षमा सबैभन्दा बढी कर्णालीको रुकुमपश्चिमका ७८ जनाले गण्डकीमा सरकारी जागिर खाएका छन् । दोस्रोमा मधेशको महोत्तरी प्रदेशका ७२ जनाले यहाँ नाम निकालेका छन् । गण्डकीमा सबैभन्दा बढी बागलुङका ३२ जना सिफारिस हुँदा कास्कीबाट नाम निकाल्ने ३८ जना मात्र छन् । प्रदेश लोक सेवामार्फत मुस्ताङबाट एक जनाले मात्र जागिर खाएका छन् भने मनाङबाट कसैले पनि अहिलेसम्म लोक सेवा पास गरेका छैनन् ।

प्रदेश लोक सेवा आयोग गण्डकी अध्यक्ष विष्णुप्रसाद नेपाल यही आवभित्र यसपालि विज्ञापन भएका पदमा कर्मचारी फिल्डमा पुगिसक्ने बताउनुहुन्छ । उहाँले गण्डकीवासीको लोक सेवामा रुचि कम देखिएको र प्राविधिक पदमा मधेश र रुकुम पश्चिमवासीको बाहुल्य भएको उल्लेख गर्नुभयो । 

नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य गण्डकीवासीमा वैदेशिक रोजगारीको मोह बढी हुँदा उनीहरूको उपस्थिति कमजोर बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कास्की, लमजुङ, मनाङ, मुस्ताङवासीको लोक सेवामा रुचि पहिल्यैबाट कम थियो । सरकारी सेवामा सोझो तवरले काम गर्दा जीविका चलाउनै कठिन पर्ने अवस्था भएकाले पनि आकर्षण कम भएको हुन सक्छ ।”

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता प्रवीण ढकालले अहिले भएको विज्ञापन समायोजनपछि रिक्त पदमा मात्र भएको बताउनुभयो । नयाँ जनशक्ति आएपछि प्राविधिक क्षेत्रमा प्रदेश र स्थानीय तहलाई काम गर्न निकै सहज हुने छ । उहाँले भन्नुभयो, “सङ्घीय निजामती सेवा ऐन नआउँदा केही कठिनाइ छन् । प्रदेश किताबखाना बन्दै छ । चाँडै जनशक्ति अभाव कम हुन्छ ।” 

यसपालि प्रदेश र स्थानीय तहका लागि अधिकृत सातौँ र सहायक पाँचौँ तहका कर्मचारी भर्ना गर्न लागिएको छ । प्रशासकीय अधिकृत, राजस्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सबइन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, प्राविधिक सहायकका लागि विज्ञापन खुलेको छ । स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायकलगायतका पदमा जनशक्ति माग भएको छ ।