दोलखा समाचारदाता
दोलखा, कात्तिक २५ गते । दोलखाको भीमेश्वर नगरपालिका–७ ले २० लाख रुपियाँको लगानीमा उज्यालो वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ । उज्यालो वडा कार्यक्रम अन्तर्गत यो वर्ष वडाका महत्वपूर्ण र असुरक्षित स्थानमा सोलर बत्ती जडान गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले मठमन्दिर, चौतारो, घाट, बिसाउनी, घुम्ती, दोबाटो, जनावरको आक्रमण हुने स्थानमा २० वटा पोलमा सौर्य बत्ती जडान गरिएको हो । अति आवश्यक देखिएका वडाको तल्लो भाग काउले, उखुबारी मन्दिर, कुप्रीको शिव मन्दिर, माथिल्लो भागको बुद्धपार्क, ढुङ्गेधारो, चरङ्गे घाटलगायतका स्थानमा यो बत्ती जडान गरिएको छ ।
वडाध्यक्ष विनोद तामाङले भन्नुभयो, “उज्यालो वडा कार्यक्रमलाई आफ्नो कार्यकालसम्ममा पूरा गर्ने छु । लामोसाँगु–जिरी सडकखण्डमा पर्ने चरङ्गे खोलादेखि वडा नं. ६ को सिमानासम्म रहेको मुख्य सडकमा यहाँका उद्योगीसँग समन्वय गरी विद्युत्कै बत्ती जडान गर्ने सोच बनेको छ ।”