• १३ असोज २०८१, आइतबार

कैलालीमा धान खरिद सुरु

blog

भजनीमा सञ्चालित धान खरिद केन्द्र ।

धनगढी समाचारदाता

धनगढी, कात्तिक २५ गते । कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले किसानको धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले जिल्लाको तीन ठाउँमा काँटा लगाएर किसानको धान खरिद गर्न थालेको हो । धनगढीको मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर र भजनी नगरपालिकाको भजनीबाट कम्पनीले किसानको धान खरिद गरिरहेको प्रमुख इन्जिला बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक १९ गतेबाटै किसानको धान खरिद गर्ने कार्य सुरु भएको हो । यो वर्ष हामीले गत वर्ष तुलनामा एक महिनाअघिबाटै धान खरिद गरिरहेका छौँ ।”

कम्पनीले गत वर्ष मङ्सिर १८ गतेबाट धान खरिदको कार्य थालेको थियो । किसानले गुजाराका लागि व्यापारीलाई व्यापारीकै मूल्यमा धान बिक्री गरेर सकेपछि बल्ल सरकारले धान खरिदको कार्य सुरु गर्ने गरेको गुनासो हरेक वर्ष सुनिँदै आएको छ । किसानको गुनासोलाई सम्बोधन गर्नका लागि कम्पनीले यो वर्ष विगतको तुलनामा महिना दिनअघिबाट धान खरिद गर्न थालेको हो । यस वर्ष कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँमा खरिद गरिरहेको छ । सुदूरपश्चिमका लागि यस वर्ष धान खरिदको कोटा ६० हजार क्विन्टल रहेको बस्नेतले बताउनुभयो । “चाँडै नै खरिदको कार्य सुरु भएकाले हामीले कोटा अनुसार धान खरिद गर्न सक्छौँ,” उहाँले भन्नुभयो । 

गत वर्ष ४० हजार क्विन्टल धान खरिद कोटा रहेकोमा कम्पनीले ३० हजार क्विन्टल मात्रै खरिद गरेको थियो । गोदाम खाली नरहेका अनुसार कोटानुसार धान खरिद नगरेको प्रमुख बस्नेतले बताउनुभयो । कम्पनीले सिजनमा धान खरिद गरेर आवश्यक परेको बेला सुदूरपश्चिम प्रदेशसहित कर्णाली प्रदेशमासमेत खाद्यान्न आपूर्ति गर्दै आएको छ । भजनीमा कात्तिक २२ गतेबाट कम्पनीले धान खरिद गरिरहेको भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख स्वर्गीय मोहनराज मल्लको राइस मिलमा धान खरिद केन्द्र सञ्चालन गरेर धान खरिदबिक्रीको कार्य भइरहेको छ ।