• १३ असोज २०८१, आइतबार

इन्जिनियर सत्याललाई तीन वर्ष कैद

blog

काठमाडौँ, कात्तिक २५ गते । विशेष अदालतले बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याललाई तीन वर्ष कैद सजाय सुनाएको छ । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका सत्याललाई अदालतले तीन वर्ष कैद र २० लाख ६० हजार रुपियाँ जरिबाना गरेको छ । यस्तै सत्यालसँगै पक्राउ परेका बखतबहादुर थापालाई डेढ वर्ष कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्याल र थापालाई २८ लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । २०७९ मङ्सिर २६ गते दुवैविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।

न्यायाधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले शुक्रबार सजाय निर्धारण गरेको हो । कात्तिक १७ गते अदालतले कसुर ठहर गरेको थियो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले सत्याललाई तीन वर्ष कैद र २० लाख ६० हजार जरिबाना तथा थापालाई डेढ वर्ष कैद र सात लाख ४० हजार रुपियाँ जरिबाना भएको जानकारी दिनुभयो । 

खानेपानीसम्बन्धी आयोजनाको भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले २०७९ कात्तिक २ गते दुवै जनालाई नियन्त्रणमा लिएको थियो । सत्याल तह आठका इन्जिनियर र थापा प्लम्बर हुनुहुन्छ । सत्याल र थापाले सेवाग्राहीबाट १६ लाख नगद र १२ लाख रुपियाँको चेक लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । विभिन्न आर्थिक वर्षको भुक्तानी भएको रकमको धरौटी फिर्ताका लागि उक्त घुस लिएको दाबी अख्तियारको थियो । 

भारतीय नागरिक मेहरा थुनामा

विशेषले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोग लागेका भारतीय नागरिक अनुप मेहरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । मेहरालाई हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गा भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानुनविपरीत निर्णय गर्न लगाएको आरोप लगाइएको छ । 

निर्णयलाई कार्यान्वयन गराउन मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृतसमेतलाई अनुचित प्रभावमा पारी मिलेमतो गरेको आरोप मेहरामाथि लगाइएको छ । मेहराले राज्यलाई पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ हानि गरेको अभियोग लागेको थियो ।