प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक २४ गते । कालीकोटको शुभकालीका गाउँपालिका –१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा स्काभेटर पुरिदा चालकको मृत्यु भएको छ ।
कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टानसहित पहिरो खसेर स्काभेटर पुरिएपछि चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृत्यु हुने चालक पचालभरना गाउँपालिका ८ खडितोलीका ३० वर्षीय धिर संज्याल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी पोषण थापाले सडक फराकिलो गरिरहेका बेला माथिबाट खसेको पहिरोले स्काभेटर च्यापेका कारणले चालक भाग्न नपाएको बताउनुभयो ।
प्रहरी निरीक्षक थापाले भन्नुभयो, “चालकलाई कुनै संकेत नै भएन । एक्कासी चटान खसेपछि भाग्न सक्ने अबस्था भएन, दुखद घटना भयो ।” चालक निर्माण ब्यसायी मुक्तीप्रसाद संज्यालका भाइ रहेको थापाले बताउनुभयो । पहिरोपछि रात परेको र पहिरो पन्छाउने अबस्था नभएकाले कर्णाली करिडोरको बाटो अवरुद्ध भएको प्रहरीको भनाइ छ ।