• ४ जेठ २०८१, शुक्रबार

माटोको पाला व्यवसायबाट राम्रो आम्दानी

blog

नवलपुरमा विक्रीका लागि तयार गरिएका माटोको पाला । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक २४ गते । नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्नै लाग्दा हरिकृष्ण प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याई छ । 

उहाँ अझै अन्य समयभन्दा तिहार नजिकिएसँगै विहानदेखि साँझसम्म प्रत्येक दिन समय बढाएर तिहारमा बत्ति बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त हुनुहुन्छ । तिहार नजिकिएसँगै प्रजापती समुदायलाई माटोको पाला बनाउने चटारो छ । 

पूर्वी नवलपरासीको कावासोती –३ का हरिकृष्ण प्रजापतिले तिहारका लागि ३० हजार पाला विक्री गरिसक्नुभएको छ । तिहारमा वत्ती वाल्न प्रयोग गरिने माटोका पालाको बजार माग पूरा गर्न उहाँले तीन महिना अघिदेखि नै पाला बनाउन सुरु गरेको बताउनुभयो । उहाँले माटोको पाला विक्री गरेर सिजनमा तीन लाख आम्दानी गरेको बताउनुभयो ।

आफ्ना बावु बाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उहाँको भनाइ छ । पुर्खाको पेशालाई धान्दै प्रजापतिले विगत २० वर्षदेखि व्यावसायिक रुपमा नै माटोका सामानहरु बनाउँदै आउनुभएको छ । सिजनअनुसार माटोका सामानहरु बनाउँदै आउनुभएको उहाँले तिहारमा भने पालाको बजार माग पूरा गर्न नसक्दा अन्य जिल्लाबाट मगाउने गर्नुभएको छ । 

आफूले काम सुरु गरेदेखि हालसम्म कुनै पनि अवस्थामा आवश्यक कुरा खरिदका लागि पैसा अभाव नभएको उहाँको अनुभव छ । आफ्नो बुबासँगै विगत लामो समयदेखि पाला बनाउन सिक्नु भएका प्रजापतीले भन्नुभयो, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ । दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने बताउनु भयो ।”

आर्थिक मन्दीले अन्य व्यापार व्यवसाय नभएको भए पनि माटोको पाला मागअनुसार पुगाउन नसकेको सुनिता प्रजापतिले बताउनुभयो । उहाँले नवलपुर जिल्ला बाहेक बाहिर जिल्लामा समेत पालाको माग बढ्दो रहेकाले राम्रो आम्दानी गरेको बताउनुभयो । यहाँ तयार भएका पालासहित माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्किवाससम्म होलसेल र खुद्रामा बिक्री हुनेगर्छ ।

प्रजापती समूदाय यतिबेला हरिकृष्णजस्तै चक्काकै अगाडि आफ्नो समय व्यतित गर्छ । माटाका भाँडा बनाउने उनीहरु विशेषगरी तिहार आउँदा बत्ती बाल्न प्रयोग गरिने पाला बनाउनमै आफ्नो समय व्यतित गर्ने गर्छन् । यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दिपावली गर्नका लागि माटोको पालामा दिप राखेर प्रज्ज्वलित गर्ने चलन छ । 

दीपावली र छठ पर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाँडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्वविशेषमा माटाका भाँडाको कारोबार बढ्नेगरेको छ ।