• २१ फागुन २०८०, सोमबार

‘दसैँ लक्ष्मी पूजामा मात्र सकिन्छ’ डा. जोशी

blog

काठमाडौं, कात्तिक २६ गते । संस्कृतिविद् एवम् सह–प्राध्यापक डा. राजनलाल जोशीले तिहारमा पाँच दिन गरिने पूजा विधि तथा यसको धार्मिक एवम् सांस्कृतिक महत्वको विषयमा धारणा राख्नुभएको छ । 

उहाँले वैदिक परम्परा अनुसार यमसँग सम्बन्धित पाँच दिनको पहिलो दिन यमका सूचक काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई, चौथो दिन गोवर्द्धन र पाँचौँ दिन भाइ पूजा गरेर तिहार मनाउने परम्परा रही आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको हकमा यमपञ्चकभन्दा तिहार मनाइन्छ । यसमा वास्तविक रूपमा दुई वटा पर्व मिसिएको पाइन्छ । एउटा तिहार र अर्को म्ह: पूजा ।”

उहाँले १५, १६ सय वर्षदेखि यो मनाइँदै आएको छ भन्नुहुँदै उहाँले भन्नुभयो, “त्यो दिन बिहान सबेरै स्नान गर्नुपर्छ र नीराजन दियोले घुमाइवरी साँझ मण्डला लेखिकन पूजा गर्ने विधान नै छ ।”, संवत् फेरिएको दिन शरीरभरि तेल घसेर पूजा गर्नाले मृत्युपछि नर्कमा नपर्ने धार्मिक विश्वास रहेको कुरा संस्कृतिमा समेत उल्लेख गर्नुभयो । 

उहाँले संस्कृतमा श्लोक उच्चारण गर्नुहुँदै नेवारी समुदायमा मनाइने म्हःपूजालाई बृहत् रूपमा लिनुपर्ने मान्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछि मात्र नेपाल संवत् आयो । यो भन्दा अगाडि शङ्ख संवत् थियो । भारत वर्षमा चाहिँ चैतमा सुरु हुने थियो जसलाई हामी स्थानीय भाषामा आगम भन्छौँ । त्यो आगमले रक्षा गरोस् भन्ने किसिमका श्लोकहरू नै पाइन्छ । म्ह: पूजा गरेपछि मात्रै वर्षभरि पाइने पुण्य पाइनेछ भनेर लेखिएको छ ।”

उहाँले दसैँ लक्ष्मी पूजामा मात्र सकिने धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको बताउनुभयो । “दसैँमा बलि दिइएको जीवको मासुलाई लक्ष्मी पूजाको दिन गोकुल धूप जस्तो बालिन्छ । दसैँ लक्ष्मी पूजामा मात्र सकिन्छ । दसैँमा जुन किसिमको पूजा पद्धति हुन्छ, पूर्ण रूपमा आगम देवीसँग सम्बन्धित छ । 

प्रत्येक घर, समुदायको आ–आफ्नो कुलायन अनुसारको साधना गरिसकेपछि त्यो साधना गर्ने क्रममा दिइएको बलिको मासु वा यसको प्रसाद भनौँ, यसलाई अन्तिम रूपमा विसर्जन गर्ने काम लक्ष्मी पूजामा हुन्छ”, उहाँले भन्नुभयो । नयाँ वर्ष प्रारम्भ भएको अर्थमा नयाँ कलशमा लक्ष्मीको स्थापना गर्ने गरिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “एक वर्षसम्म मलाई कुनै किसिमको बिघ्न, बाधा नहोस् । रोग व्याधि नआओस्, मन तन्दरुष्ट होस् । सुख, शान्ति, सफलता होस् भनेर परिवारजन बसेर पूजा गरिन्छ । यसमा लैङ्गिक, जातीय विभेद छैन ।” यो समयमा घरमा पालिएको कुकुर, चराचुरुङ्गी, बिरालो सबैको नयाँ वर्ष भएकाले सबैको पूजा गरिने पनि उहाँको भनाइ छ । 

म्ह: पूजामा पञ्च तत्त्वले प्रेरित खाद्य पदार्थहरू खाने चलन छ । प्रत्येक व्यक्तिको अगाडि मण्डला बनाइ पाँच किसिमको रङ्ग लेखी कुल परम्परा अनुसार कुल देवीलाई आमन्त्रण गरिने उहाँको भनाइ छ । 

उहाँले तिहारको अर्को वैज्ञानिक विषय रहेको प्रसङ्ग जोड्नु हुँदै यसअघिको असार, श्रावण र भदौसम्ममा वर्षाले माटो भिजिरहेकाले विभिन्न किसिमका किरा, फट्याङ्ग्रा, गन्ध आइरहेको समयमा तेलको दियो बालेर, घर आँगन सुगन्धित हुँदा यसले सङ्क्रमण न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउनुभयो ।