• १२ मंसिर २०८१, बुधबार

टेनिसमा सुनिरालाई रजत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २४ गते । नेपाल टेनिस खेलाडी सुनिरा थापाले शुक्रबार वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा रजत पदक जित्नुभएको छ । बङ्गलादेशको ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्र्स एकल फाइनलमा भारतकी एलिना फरिडसँग ६–३ र ६–४ ले चुकेपछि सुनिरा रजतमा सीमित हुनुभयो ।

बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उक्त स्पर्धामा २७ खेलाडी सहभागी थिए । पहिलो चरणमा बाइ पाउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी सुनिराले त्यसपछिका खेलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७–५ र ७–६, भारतकी प्रिन्सी मन्दागाल्लालाई ६–४ र ६–४ सेमिफाइनलमा भारतकै देवान्सी गोहिललाई ६–३ र ६–० ले हराएर उपाधि भिडन्तमा स्थान बनाउनुभएको हो ।

उक्त प्रतियोगितामा नेपालबाट आइशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गर्नुभएको थियो । यी तीनै खेलाडी पदकविहीन बनेका छन् । नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट– २ मा पनि सहभागिता जनाउनेछ । सर्किट– २ भने बंगलादेशको राजशाहीमा हुनेछ ।