• २५ पुस २०८१, बिहिबार

प्रादेशिक अस्पतालको सेवामा सुधार

blog

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ।

छविलाल पाण्डे 

बुटवल, कात्तिक २४ गते । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधार हुँदैगएको देखिएको छ । लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको अस्पतालले कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको हो । 

यसअघि सो अस्पताल लुम्बिनी प्रदेशमा चौथौ स्थानमा रहेकोमा अस्पतालले थप सुधार गर्दै गत वर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । 

अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. सुदर्शन थापाले देशका १३ वटा अस्पतालमध्ये लुम्बिनी प्रादेशिक अस्पतालले ७० दशमलव ३६ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको बताउनुभयो । 

गत वर्ष यो अस्पताल लुम्बिनी प्रदेशमा चौथो हुन सफल भएको थियो । यसअघि अस्पतालमा भएको कार्यशाला गोष्ठीको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले अस्पताललाई प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । 

उहाँले अस्पताललमा विवाद नआउने गरी प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन समेत दिएको मेडिकल सुपरिटेन्डेण्ट डा. थापाले जानकारी दिनुभयो । 

त्यसैगरी लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदप्रसाद गिरीले अस्पताललाई विरामी सेवकको रुप समर्पित गराउन अनुरोध गर्नुभयो । अस्पतालका अनुसार गएको आर्थिक वर्षमा अस्पतालबाट ३ लाख २ हजार ६९६ सेवाग्राहीले बहिरंग सेवा पाएका छन् । 

अस्पतालमा अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा २ लाख ८६ हजार ९९४ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७–७८ मा १ लाख २२ हजार ८६४ जनाले सेवा लिएका थिए । अस्पतालका अनुसार आकस्मिक कक्षतर्फ पनि सेवा लिनेको संख्यामा वृद्धि भएको छ । 

गत वर्ष अस्पतालमा ६७ हजार ५६१ जनाले आकस्मिक सेवा लिएका थिए भने त्यसअघिको वर्ष २०७८–७९ मा ५५ हजार ६२१ जनाले सेवा लिएका थिए । यसैगरी अस्पतालले सेवा विस्तारसँगै गत महिनादेखि बालबालिका तथा महिला प्रसुतिका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । 

विस्तारित स्वास्थ्य सेवामा न्यूरो एचडीयु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरेको छ । अस्पतालले यसअघि नै ल्याब रिपोर्ट एसएमएस सेवा पनि थप गरी सञ्चालन गर्दैआएको छ ।