• ५ जेठ २०८१, शनिबार

नेपाल–भारत डिआइजीस्तरीय सुरक्षा बैठक

सीमा सुरक्षा तथा अवैध निकासी पैठारी नियन्त्रण गरिने

blog

नेपाल–भारत सुरक्षा विषयको बैठकपछि भारतीय समकक्षीलाई मायाको चिनो दिंदै डिआइजी खत्री । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २४ गते । सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यवासिनी बाहिनीको आयोजनामा नेपाल र भारतका डीआइजीस्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । 

सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले दिनुभएको जानकारीअनुसार सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वाटर लखिमपुरखिरी तथा सेक्टर हेडक्वाटर गोरखपुरबीच डीआइजीस्तरीय काउन्टरपार्टस् सुरक्षा बैठक सम्पन्न भएको हो । 

एसपी शाहीकाअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएको सो बैठकमा सीमा सुरक्षा, अवैध निकासी पैठारी नियन्त्रण, सीमा स्तम्भ मर्मत सम्भार, मानव बेचविखन र अपहरण नियन्त्रण, हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो ।  

उहाँले बैठकमा दुवै पक्षले सीमा अपराध नियन्त्रण साथै नेपाली एवं भारतीय नागरिकको सुरक्षित, सहज र मर्यादित रुपमा सीमापार आवतजावत हुनुपर्नेमा जोड दिएको बताउनुभयो । 

सीमा क्षेत्रमा लक्षित दुई देशीय सुरक्षा संवेदनशीलताका विषयमा गम्भीर रुपले छलफल भएको सो बैठकमा सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सीमा सुरक्षा बलको थप प्रभावकारी तैनाथीमा जोड, दशगजा क्षेत्र खाली गर्दै सरसफाइ र सुन्दरताका लागि दुवै देशका सुरक्षा फौजबाट संयुक्त अभियान, नेपाल र भारतका नागरिकको सुरक्षित सीमापार आवत–जावतका लागि हेल्पडेस्कहरु स्थापना गर्ने र नियमित रुपमा समन्वय एवं सहकार्य जारी राख्नेलगायतका विषयमा छलफल भएको थियो । 

बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी नेपाल नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीलगायत लुम्विनी प्रदेश अन्तर्गत भारतसँग सीमा जोडिएका जिल्लाका गणका गणपतिहरु र भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वाटर लखीमपुरखिरीबाट डिआइजी जेडी वशिष्ठ तथा सेक्टर हेडक्वाटर गोरखपुरबाट डिआइजी अखिलेश्वर सिंहलगायत गणका कमाण्डेन्टको समेत सहभागिता रहेको थियो । 

सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यवासिनी बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ र भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वार्टर गोरखपुरका डिआइजी अखिलेश्वर सिंहले बैठकको एजेण्डाबारेमा जानकारी गराउनुभयो ।