काठमाडौं, कात्तिक २४ गते । बाराका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन शिक्षक योगेन्द्रप्रसाद यादवविरुद्ध १६ लाख ९२ हजार २६९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार यावदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइ स्वतः निलम्बनमा रहने अवधिदेखि स्वेच्छिक अवकासका लागि राजीनामा पेश गर्दासम्मको अवधिमा एक लाख पाँच हजार ३२ रुपियाँ निलम्बन रहेको अवधिमा पाउन सक्ने आधा रकम र सो मुद्दा फैसला भई स्वतः वर्खास्त भएको अवस्थामा औषधि उपचार, बिरामी बिदा र चाडपर्व खर्चसमेतको निवृत्तभरण रकम बापतको १५ लाख ८७ हजार २३७ रुपियाँ भुक्तानी लिई सो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ ।
उहाँका अनुसार साबिक जिल्ला शिक्षा कार्यालय तथा हालको शिक्षा विकास तथा समन्वय एकाइ, बाराका विद्यालय निरीक्षक वृजकिशोर यादवले विद्यालय प्रशासन शाखाको प्रमुखको हैसियतमा निलम्बनको कारबाही अगाडि बढाउनुपर्ने दायित्वसमेत पूरा नगरी उल्टै तलब निकासाको सिफारिस गरेकोले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।
तत्कालीन प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादवविरुद्ध राजीनामा स्वतः शङ्कास्पद रहेको यथार्थ बुझी पदमा रहेको बखत विद्यालय व्यवस्थापन समितिको बैठक र निर्णयसहित स्वीकृतिका लागि पठाउनुपर्नेमा सो कार्य गरेको नदेखिएकोले निवृत्तभरण गरेको १५ लाख ८७ हजार २३७ रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।
यसैगरी, तत्कालीन प्रधानाध्यापक चेथारु प्रसाद कुर्मीविरुद्ध नियमविपरीतको एक लाख पाँच हजार ३२ रुपियाँ भ्रष्टाचार आरोप लागेको आयोगले जनाएको छ ।
यस्तै, तत्कालीन जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी, तत्कालीन का.मु. निर्देशक दिनेश कुमार श्रेष्ठ र शाखा अधिकृत वेदप्रसाद पौडेलविरुद्ध निजलाई लाभ र सरकारी हानिनोक्सानी गर्न सहयोग पुर्याएको आरोप लागेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा शुक्रबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।