अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २४ गते । जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुनचौपारी–१ सहेले सडक आठौं दिनामा खुलेको छ ।
गत कात्तिक १७ गते राति भूकम्पको धक्काबाट अवरुद्ध अर्जुनचौपारी हेलु सडक निर्माण गर्दै गरेको गोल्डेन गुड बानियाँ जेभीले विभिन्न बहाना बनाउँदै नखोलेपछि गोरखापत्र दैनिकमा खुलेन अवरुद्ध सडक शीर्षकमा समाचार प्रकाशन भएको थियो ।
अर्जुनचौपारी हेलु सडकको सहेले माटेथरमा भूकम्पको कम्पनले बाटो माथीबाट सुक्का पहिरो जाँदा अवरुद्ध भएको थियो ।
चर्केका कारण फेरि ढुङ्गा खस्ने भन्दै जोखिम मोलेर सडक खोल्न नसकिने बताउँदै निर्माण व्यवसायीका इन्जिनियर धर्मेन्द्र ठाकुरले सडक नखोल्ने बताउनुभएको थियो ।
अवरुद्ध सडक नखोलेको समाचार प्रकाशन भएपछि पूर्वाधार विकास निर्देशनालय पोखराका प्रमुख महेन्द्र बानियाँ र पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सुमन गिरीसहितको टोलीले पहिरो निरीक्षण गरी अवरुद्ध सडक खोल्न निर्माण कम्पनीलाई निर्देशन दिएको थियो ।
समाचर प्रकाशन भएकै दिन टोलीले सडक खोल्न निर्देशन दिएपनि दुई दिनपछि सडकको पहिरो हटाइएको हो । अवरुद्ध सडक निर्माण कम्पनी र अर्जुनचौपारीका दुई वटा डोजरले साढे दुई घण्टामै हटाएको थियो ।
पर्वत जिल्लासँग जोडिएको सडक अवरुद्ध हुदाँ यहाँका सयौं सवारी साधन जोखिम मोलेर दरौ खोलाको बाटो हिँडन बाध्य हुनु परेको थियो ।
ढुङ्गा र माटोले करिब ३० मिटर बाटो अवरुद्ध हुदाँ एम्बुलेन्सले समेत वैकल्पिक सडकमार्फत बिरामीको उपचारमा लानुपरेको थियो ।
विभिन्न बहानाबाजी गरेर सडक नखोल्ने निर्माण कम्पनीले पूर्वाधार विकास कार्यालय स्याङ्जासँग पटक पटक म्याद थपेर अर्जुनचौपरी सडक काम गर्दै आएको छ । सम्झौताको तीन वर्षमा सक्नुपर्ने सडक चार वर्षमा समेत अझैसम्म सम्पन्न हुन सकेको छैन ।