• १९ वैशाख २०८१, बुधबार

कुमाल जातिको सीपको कदर हुने बेला

blog

टारेका कुमाल समुदाय तिहार र छठका लागि जोहो गर्दै । तस्बिर : रासस

धनुषा, कात्तिक २४ गते । दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यति बेला भ्याइनभ्याइ छ ।

अघिपछिको समयमा फुर्सदिला बनेका उनीहरु दीपावली, तिहारजस्ता चार्डपर्वहरु आएपछि व्यस्त हुने गरेका छन् । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दसैँ सकेलगत्तै कुमालहरु माटाका भाँडा बनाउन दिनरात नभनी जुटेका छन् । चाडपर्वका बेला बढी खपत हुने माटोको भाँडा माग अनुसारको पूरा गर्न यतिबेला कुमाले निकै व्यस्त देखिन्छन् । 

दीपावली (तिहार) र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को) सहित नयाँ माटाका भाडा प्रयोग गरिने मैथिल परम्पराअनुसार धनुषासहित तराईका जिल्लाहरुका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ । यसै बेलालाई आफ्नो कमाईको मुख्य अवसर ठानेका कुमाले अहिले भाडा बनाउन व्यस्त भएका हुन् ।

“अन्य चाडपर्वमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दसैँ टारियो”, क्षीरेश्वरनाथ नगरपालिका-८ इच्छापुरका कुमाले टोलका सुरेन्द्र पण्डित कुमालले भन्नुभयो, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ । दसैँपछिको तिहार र छठ अघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सुरेन्द्रको थप भनाइ छ ।

अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिँदै आइएकाले जिल्लाका सबैजसो बजारमा यसको माग बढेको देखिन्छ । कुमाल जातिले परम्परादेखि माटोको भाँडा बनाउँदै आए पनि अहिलेका युवा पुस्ताले परम्परागत पेसालाई नअपनाएपछि बजारको मागअनुसार धान्न गाह्रो भएको उनीहरु बताउँछन् । 

दीपावली र छठ पर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मी पूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ । 

माटोको दियो तथा अन्य माटोको भाँडा बनाउन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-हरैयामा बसोबास गर्ने कुमालेहरु यतिबेला व्यस्त भएको देखिन्छ । उनीहरुले बनाएका माटाका भाँडाहरु सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामदेखि महोत्तरीको बर्दिवाससम्म बिक्री वितरण हुने गरेको छ । 

दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले धनुषाका सबैजसो गाउँ, नगर बस्तीका हटियामा माटाका भाँडाका छुट्टै बजार लाग्ने गरेको छ । साप्ताहिक हाट बजारबाहेक नगरगाउँ बस्तीका चोकचोकमै कुमालेले माटाका भाँडाको बजार लगाउन सुरु गरिसकेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादव बताउनुहुन्छ । उहाँले मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको बताउनुभयो । 

विष्णु पण्डित कुमालेको अनुसार आफूले माटाका भाँडा बनाउन थालेको ४५ वर्ष जति भयो । हजुरबुबाहरुबाट आफूले यो सीप सिकेर माटाका भाँडा बनाउँदै बिक्री विवतरण गरिरहेको उहाँले बताउनुभयो । उहाँले एक दिनमा पाँच सय जति माटोको दिया बनाउने गरेको बताउनुभयो । चिने जानेकाले घरमा आएर खरिद गर्ने गरेको उहाँले बताउनुभयो । 

बढी जसो होलसेल पसलमा माटाका भाँडा बिक्री गर्ने गरेका पण्डितले बताउनुभयो । अहिले आफूसँग भए जतिको माटाका दियोहरु सबै बिक्री वितरण गरिसकेको उहाँले बताउनुभयो । उहाँले भाँडा बिक्रीबाट आर्जित आम्दानीबाटै तिहार, छठ मनाइने, दसैँ मनाइएको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आफूहरुको उपयुक्त अवसर भएको बताउनुहुन्छ । 

यसपालि दसैँ सकिएलगत्तै जमेको माटाका भाँडाको बजार छठसम्म रहने भएकाले र मूल्य वृद्धिसमेत भएकाले यो छठ पर्वसम्म करिब १५ लाखभन्दा बढीको कारोबार हुने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउनुहुन्छ । कुमालेहरुको मुख्य पेसा माटाका भाँडा बनाउने रहे पनि थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले परम्परागत पेसालाई अवमूल्यन गरेका कारण चाडपर्वको बेला बढेको माग पूरा गर्न हम्मेहम्मे परेको क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजारका ५५ वर्षीय लक्ष्मण पण्डित कुमालेले बताउनुभयो । 

सरकारले माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवद्र्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उहाँको आशय छ । झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा अन्य समयको भन्दा बढी माटाको दियो धुपोउरोलगायत सामग्रीको माग हुने गरेको कारण यो समयमा कुमाले माटाका सामग्री बनाउन व्यस्त बनेका छन् । 

सखुवाबजार नयाँटोल बस्ने ६० वर्षीय जयनारायण पण्डितले माटोको भाँडाकुँडा बनाउँदा अरु बेलामा भनेजस्तो आम्दानी नहुने हुँदा जीविकोपार्जनमै समस्या हुने गरेको बताउनुभयो । पुर्खाले अँगाल्दै आएको पेसालाई आफूहरुले छोड्न नसकिएको उहाँको भनाइ छ । भनेजस्तो आम्दानी नभए पनि सामान्य रुपमा घर खर्च चलिरहेको छ । 

केही वर्ष आगाडिसम्म माटाका भाँडा बनाउने पेसा अँगाल्दै आएका कुमालेहरु बढ्दो आल्मोनियम र प्लास्टिकका भाँडाहरुसँग माटाको भाँडाले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । प्लास्टिकका सामानहरु सस्तोमा पाउने तथा आफूहरुले प्रयोग गर्ने माटो, दाउरा र रङरोगनका सामग्रीको मूल्य बढेका कारण पेसालाई निरन्तरता दिन कठिनाइ भएको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दशरथप्रसाद पण्डितले बताउनुभयो । 

आफूहरुले ३६ किसिमका माटाका भाँडाहरु बनाउने गरेको उहाँको भनाइ छ । अहिले माटोलगायत बनाइएको सामग्रीहरु आगोमा पकाउनको लागि आवश्यक सबै सामग्रीहरु खरीद गर्नुपर्ने हुँदा लागत अनुसारको आम्दानी नहुने भएकाले युवा पुस्ताले परम्परागत पेशाप्रति उदासीनता देखाएको दशरथ पण्डितको भनाइ छ । 

अहिलेसम्म पुख्र्यौली पेसालाई आफूहरुले जसोतसो धाने पनि नयाँ पुस्ताले देखाएको उदासीनताका कारण भविष्यमा माटोको भाँडाको विकल्पमा अन्य भाँडाले ठाउँ लिनेमा यो समुदाय चिन्तित देखिन्छ । यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको पालामा दीप राखेर प्रज्वलित गर्ने चलन रहेको पनि पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा पनि बिजुलीबाट जल्ने झिलीमिली बत्तीको प्रचलन बढ्दो छ ।

“केही वर्षअघिसम्म पाला नै धेरै प्रयोग गरिन्थ्यो,” आफ्नो बुबासँगै लामो समयदेखि पाला बनाउन सिकेका महेन्द्रनगरका ४५ वर्षीय रामदेव पण्डितले भन्नुभयोे,“अहिले चीनले प्लास्टिकका र बत्तीबाट जल्ने दियोको आकृतिका सामग्री बनाइदिएपछि पाला बिक्री हुन अलि समस्या पर्न गएको छ ।” केही वर्ष पहिलासम्म तिहारमा मात्र एक लाख पाला बेच्ने गरेको अनुभव रामदेवले सुनाउनुभयो । रासस