• १२ साउन २०८१, शनिबार

विकास नै प्रमुख प्राथमिकतामा छ

blog

सिरहा जिल्लामा सबैभन्दा बढी छ वटा वडा भएको लक्ष्मीपुरपतारी गाउँपालिका हो । यसको पूर्वमा लहान नगरपालिका, उत्तरमा धनगढीमाई नगरपालिका, पश्चिममा सुखीपुर नगरपालिका र दक्षिणमा बरियारपट्टी गाउँपालिका छ । पतारी पोखरी धार्मिक पर्यटकीय स्थलको नाउँबाट चिनिएको यहाँको कुल जनसङ्ख्या ३१ हजार ११८ रहेको छ । यो गाउँपालिका पर्सा पोखरभिन्डा, रामपुर पिप्रा, महेशपुर, लक्ष्मीपुरपतारी, खरुकियाही र सीतापुर गाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो । किसानको बाहुल्य रहेको यस पालिकाको विकास गर्न कृषि पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायको क्षेत्रमा काम गर्ने प्रतिबद्धता गरेर स्थानीय तह निर्वाचनमा चतुरानन्द ठाकुर (दुनुवार) गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । गाउँपालिकाको विकास निर्माणलगायतका विविध विषयमा केन्द्रित भई अध्यक्ष ठाकुरसँग गोरखापत्रका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ :

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि चुनावमा मतदातासँग गर्नुभएको प्रतिबद्धता कति पूरा गर्नुभयो ? 

पहिलो पटक २०७४ सालमा गाउँपालिकाको अध्यक्ष पदमा प्रत्यासी रहे पनि पाँच वर्ष जनताको पक्षमा आवाज उठाइरहेकाले २०७९ को चुनावमा निर्वाचित भएपछि जनपक्षीय काम गर्न निरन्तर लागेको छु । यहाँ ८५ प्रतिशत किसानको आवादी रहेकाले किसानलाई सिँचाइमा राहत दिन गाउँपालिकाबाट विद्युत् महसुल बुझाउने काम गरिसकेका छाँै । थप सिँचाइका लागि बोरिङ जडान कार्यलाई अगाडि बढाउन थप तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । मलखाद्यको उपलब्धता र बजार व्यवस्थापनका लागि अर्को आर्थिक वर्षमा योजनाहरू ल्याउन लागिपरेका छौँ । 

किसानका उत्पादन बिक्री गर्न १० किलोमिटर टाढा लहान आउनुपर्ने बाध्यता छ, यसको अन्त्य गर्न के गरिरहनुभएको छ ? 

यस गाउँपालिकामा रहेको सीतापुर, प्रिपा र पतारी पोखरी गरी तीन ठाउँमा कृषि बजारलाई व्यवस्थापन गर्न प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गरेर कृषि बजारको व्यवस्थापन गर्ने लागिपरेको छु । यो मेरो चुनावी प्रतिबद्धता पनि हो । यसलाई पूरा गर्न पालिकाको बजेटबाट कति सम्भव हुन्छ, त्यति काम सुरु गरेर सङ्घ र प्रदेश सरकारसँग सहयोगको लागि प्रयासरत छौँ । यस वर्ष ग्रामीण विद्युतीकरणका लागि एक करोड ४० लाख रुपियाँ विनियोजन भएको छ ।

दलीय खिचातानीले पालिकामा विकासले गति लिन सकिरहेको छैन । सहमति सहकार्यको वातावरण बनाउन तपाईंले के गर्दै हुनुहुन्छ ? 

यो प्रश्न मलाई अति नै सान्दर्भिक लाग्यो । चुनावको समयमा लोकतान्त्रिक अभ्यास गर्न विभिन्न दलबाट उम्मेदवार भयौँ । चुनाव जितेपछि सबैलाई सहमति र सहकार्यमा ल्याउन सकिएन भने न विकास हुन्छ, न त सामाजिक न्याय । तसर्थ, सबै दललाई एक ठाउँमा ल्याउन म सुरुदेखि नै प्रयासरत छु । गाउँपालिकाका पूर्वअध्यक्ष र प्रत्यासी नेकपा (एमाले) का उम्मेदवार रहनुभएको देवनारायण साहसँग निरन्तर सहकार्य गरिरहेका छु । यस कार्यलाई निरन्तरता दिइरहने पनि छौँ । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा काम गर्न सकारात्मक वातावरण बनाउन लागेका छौँ । चौतर्फी विकास नै प्रमुख प्राथमिकतामा छ ।

तपाईं निर्वाचित भएपछि पतारी पोखरीको सौन्दर्यीकरण कार्य किन रोकिएको हो ? 

पतारी पोखरी यस गाउँपालिकाको धार्मिक पर्यटनको प्रमुख आधार हो । सयौँ वर्षअघि राजा हरिसिंह देवको मन्दिर रहेको पतारी पोखरीलाई धार्मिक पर्यटकीय क्षेत्रको सूचीमा राखेर यसको विकासका लागि आउने व्रmमागत बजेट अनुसार एक करोड रुपियाँको लगानीमा पोखरीका चारैतिर घाट निर्माण सम्पन्न भएको छ । बाँकी आउने बजेट रोकिएकाले यसका लागि निरन्तर पत्राचार र पहल भइरहेको छ । माथिबाट बजेट निकासा भएपछि बाँकी काम हुने छ । 

पालिकामा शिक्षाको अवस्था कस्तो छ, यस क्षेत्रका लागि के गर्दै हुनुहुन्छ ?

कृषिपछिको दोस्रो प्राथमिकतामा रहेको शिक्षा क्षेत्रको विकास प्रगतिउन्मुख छ । कुल १७ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये छ वटा माध्यमिक र ११ वटा आधारभूत विद्यालय छन् । जनता डोमी चौधरी प्राविधिक धार नमुना माध्यमिक विद्यालय पर्सा पोखरभिन्डा जिल्लामा नै नमुना विद्यालयका रूपमा स्थापित भएको छ । यस विद्यालयमा प्राविधिक धारको पढाइ पनि गुणस्तरीय छ । आधारभूत र माध्यमिक विद्यालयहरूको शिक्षा सुधारका लागि वडाध्यक्षहरूलाई जिम्मेवार बनाएर वडास्तरमा जाने बजेटलाई पनि विद्यालयमा छुट्याएर पूर्वाधार र शैक्षिक अवस्था सुधार गर्न प्रभावकारी रणनीतिक योजना र निरन्तर सघन अनुगमनको पाटोलाई प्रभावकारी बनाउन लागेका छौँ । 

अन्य पालिकाको तुलनामा सामाजिक न्यायका लागि के भइरहेको छ ? 

भौतिक विकाससँगै सामाजिक विकास आवश्यक छ । यस आवश्यकतालाई पूरा गर्न उपाध्यक्षको नेतृत्वमा बनेको न्यायिक समितिलाई न्यायको प्रत्याभूति दिलाउन वडास्तरीय मेलमिलाप केन्द्र वडाध्यक्षहरूलाई समेत निष्पक्ष भूमिका बनाएर न्यायको प्रत्याभूति दिलाउन पटक पटक सचेत गराउँदै आएको छु । 

स्वास्थ्य क्षेत्रमा खासै उल्लेखनीय काम देखिएको छैन । स्वास्थ्य क्षेत्रका लागि गाउँपालिकाले के गरिरहेको छ ? 

स्वास्थ्य क्षेत्रका लागि गाउँपालिकास्तरीय अस्पताल निर्माण गर्न जग्गा उपलब्ध भइसकेको छ  । आवश्यक रकमका लागि गाउँपालिकाले समेत लगानी गरेर थप रकमको व्यवस्था गर्न प्रदेश र सङ्घ सरकारको सहयोग लिन निरन्तर लागिरहेका छौँ । दुई स्थानमा बर्थिङ सेन्टर स्थापना भएको छ । स्वास्थ्य सेवा प्रवाहमा यो गाउँपालिकाले प्रशंसनीय काम गरिरहेको छ । 

गाउँ नै गाउँले भरिएको यस पालिकाको सडक पूर्वाधारको अवस्थामा के सुधार भइरहेको छ ? 

सीतापुर–लक्ष्मीपुर–पतारी गाउँपालिका कार्यालय जाने बाटो आवतजावतका लागि निकै कठिनाइ थियो । यस समस्यालाई समाधान गर्न ९० लाख रुपियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भएलगत्तै समाधान गरिसकेका छु । सिस्वा पत्थरगरा जाने सडक र अन्य कृषि सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । गाउँपालिकामा बजेट पारदर्शिता र जनसहभागिताको नीति अपनाएर सडक विकासका लागि योजनाबद्ध रूपमा काम अगाडि बढिरहेको छ ।