कालीकोट समाचारदाता
कालीकोट, कात्तिक २४ गते । रास्कोट नगरपालिकाको मूल सडक निर्माणको चार वर्षमै जीर्ण बनेको छ । २०७४ साल माघमा नगरपालिकालाई हस्तान्तरण गरिएको १८ किलोमिटर मूल सडक खाल्टाखुल्टी भई कालोपत्रे उप्केपछि यात्रुले सास्ती खेप्दै आएका छन् ।
प्रदेश सरकारले सडक फराकिलो गर्ने नाममा दुई करोडको ठेक्का लगाएसँगै सडक सुधारभन्दा जीर्ण हुँदै आएको छ । पछिल्लो समय २६ करोड रुपियाँको हाराहारीमा सडक कालोपत्रेका लागि भनेर ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमा काम नगरेको र नगरपालिकाले ताकिता नदिएका कारण रास्कोटको मूल सडक अहिले निकै जोखिम बनिरहेको बताइन्छ । बर्सातमा बाढीले चिरा पारेको सडक उस्तै छ भने बालुवा र माटो थुप्रिएको सडक क्षेत्र पूरै धुलाम्मे भएको छ । सडक कालोपत्रे गर्ने निर्माण कम्पनीकै भरमा नगरपालिका परेकाले सडक यात्रा गर्नलायक नभएको स्थानीयको गुनासो छ । रास्कोट–६ का महेश फर्सालले नगरपालिकाकै कमजोरीका कारण निर्माण कम्पनीले सडक सुधारमा ध्यान नदिएको बताउनुभयो ।
नगर प्रमुख धर्मराज शाहीको निर्माण कम्पनीसँगको सम्बन्धका कारण केही भन्न नसक्ने भएकाले पाँच वर्ष अवधि राखिएको ठेक्काको काम सुस्त गतिमा भएको फर्सालले बताउनुभयो ।
रास्कोट नगरपालिकाको १८ किलोमिटर सडक सुरुमा ग्रामीण पहुँच कार्यक्रम ¥याप थ्रीले निर्माण गरेको थियो । ३३ करोड रुपियाँ लगानीमा निर्माण गरिएको सडक पछिल्लो समय कहिले नाला बनाउने, कहिले डबल कटान गर्ने भन्दै थप जीर्ण पारिँदै आएको छ । नेकपा (एमाले) रास्कोट नगरका इन्चार्ज विमल शाहीले नगरपालिकाका पदाधिकारी कमिसनको पछि दौडिएकाले सडकको काम कमसल बनेको बताउनुभयो ।
सडकको भित्ताबाट पहिरो नझरोस् भनेर घाँस रोपिएको थियो । सडकको डिलमा बिरुवा रोपिएका थिए । सडक हरियाली भइसकेकाले २०७६ सालमा कर्णाली प्रदेश सरकारको बजेटले सडक चौडा गर्ने भन्दै सबै भत्काइएको थियो । खासै सडक चौडा पनि पारिएन । एक्साभेटरले नयाँ माटो मात्र देखाएका कारण तत्कालीन नगर प्रमुख काशीचन्द्र बरालले भुक्तानीका लागि सिफारिस नदिँदा तत्कालीन नेकपामा खेलाबैला भएको थियो ।