• १२ साउन २०८१, शनिबार

गज्जबको आनन्द पाइने टिपताला यात्रा ! (फोटो फिचर)

blog

टिपताला क्षेत्रको मनमोहक दृश्य । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २३ गते ।
 नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना हो, टिपताला भन्ज्याङ । ताप्लेजुङको हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलासँग सिमाना जोडिएको टिपताला भञ्ज्याङसम्मको यात्रा गर्दा गज्जबको आनन्द पाइने छ । प्रकृतिको अनुपम उपहारसँगै सौन्दर्यतामा रमाउन पाइने भएकाले टिपतालाको यात्रा तथा भ्रमणमा आनन्दानुभूति मिल्ने छ ।

टिपताला भन्ज्याङ नेपाल र चीनको सिमाना (नाका) मात्र नभई एक पर्यटकीय क्षेत्र पनि हो । समुद्र सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको टिपताला भन्ज्याङ पुग्नलाई झ्वाट्ट सोच्दा केही कठिनाइ हुनसक्ने भान भए पनि सो क्षेत्रको मनमोहक दृश्य र सुन्दरताले भुलाई दिन्छ । ओलाङ्चुङगोला आफैँमा पर्यटकीय स्थल हो । ओलाङ्चुङगोलासम्म उल्लेख्य सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्दछन् ।


टिपताला क्षेत्र भने कमै मात्र पर्यटकहरू पुग्ने गरेका छन् । प्रचुर सम्भावना भए पनि आवश्यक प्रचारप्रसारको अभावले टिपताला क्षेत्रमा पर्यटकको उपस्थिति न्यून हुने गरेको बताइन्छ । यस क्षेत्रको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्य राखेर भर्खरै नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको नेतृत्वमा टिपताला यात्रा सम्पन्न गरिएको छ ।

करिब डेढ दर्जन पत्रकारहरू संलग्न रहेको भ्रमण टोलीले टिपताला क्षेत्रको प्रवर्द्धन गर्नमा ढिलाइ भइरहेको निष्कर्ष निकालेको छ । भ्रमण गर्न लायक क्षेत्र टिपताला भएको र तीनै तहका सरकारसँगै पर्यटन क्षेत्रका सरोकारवाला सबैले यसक्षेत्रको विकास र प्रवर्द्धनमा लाग्न आवश्यक देखिएको महासङ्घका जिल्ला अध्यक्ष आनन्द गौतमको भनाइ छ ।


टिपताला भञ्ज्याङ पुग्नलाई सदरमुकाम फुङ्लिङदेखि फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको इलाडाँडासम्म गाडीमा यात्रा गर्न सकिन्छ भने त्यहाँदेखि पैदलयात्रा गर्नुपर्ने हुन्छ । इलाडाँडादेखि ओलाङ्चुङगोला हुँदै टिपताला पुग्न सकिन्छ । ओलाङ्चुङगोलादेखि टिपताला भञ्ज्याङको दूरी स्थलमार्ग अनुसार २५ किलोमिटर रहेको छ ।