हरिकृष्ण ऐडी
मुगु, कात्तिक २३ गते । मुगुको छायाँनाथ रारा नगरपालिका–४ भामवाडामा विद्युतको तार सर्ट भई एक घर जलेर नष्ट भएको छ । सोमबार अपरान्ह १२ बजेतिर विद्युत सर्ट हुँदा देवीराज रावलको घर जलेर नष्ट भएको हो ।
अचानक विद्युत् सर्ट भएर तीन तलाको घरमा आगो सल्किएपछि घरभित्र रहेका लत्ताकपडा, कोदो, चामल, खानेकुरा, बालबालिकाका किताब त्यसैगरी नगद रुपियाँ र गरगहना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
“दिउँसोको समयमा घरभित्र कोही पनि नभएको बेला बाहिरबाट ताल्चा लगाएको बेला आगलागी भएको हो” अग्निपीडित देवीराज रावलले भन्नुभयो, “जस्तापाताले छाएको र घरभित्र काठले प्रयोग गरेर बनाइएको घर जलेर नष्ट भएको छ ।”
आगलागीबाट मानवीय क्षति नभए पनि प्रहरीले वडा ४ कार्यालयको रोहवरमा मुचुल्का तयार गरेअनुसार नौ लाख रुपियाँ बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुँडा, गहनासहित केही नगद रुपियाँ जलेर नष्ट भएको स्थानीयको भनाइ छ । घर जलेर नष्ट भएपछि देवीराजका ८ जनाको परिवारसहित साना बालबच्चाको बिचल्ली भएको छ ।