अमरराज नहर्की
तनहुँ, कात्तिक २३ गते । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत डुम्रे–दमौली खण्डमा कालोपत्रे सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डमा ‘अस्फाल्ट प्रविधि’ मा कालोपत्रे गरिएको हो । डुम्रे–दमौली क्षेत्र अन्तर्गत बन्दीपुर गाउँपालिका–१, रिमाल्नीमा काम धमाधम भइरहेको छ । यसअघि आँबुखैरेनी गाउँपालिका–१, बरादीमा डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको आयोजनाले जनाइएको छ ।
पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख श्याम यादवले दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा दुई लेनको कालोपत्रे सुरु गरिएको जानकारी दिनुभयो । तिहारपछि भने छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्रे हुने गरी धमाधम काम भइरहेको यादवले बताउनुभयो ।
यातायात आवागमनलाई सहज बनाउन दुई लेनलाई आलोपालो कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टो पुर्ने, पक्की पुल तथा कलभर्ट निर्माणको काम भइरहेको यादवले जानकारी बताउनुभयो । यादवले भन्नुभयो, “यात्रुलाई यात्रा गर्न सहज होस् भनेर कालोपत्रे गर्ने कामलाई तीव्र पारिएको छ ।”
पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद आउँदा वैशाखसम्म छ ।
पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ साल जेठ २ गते सम्झौता भई २०७८ साल भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।
तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुने छ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । पूर्वी खण्डमा हालसम्म ३६ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख यादवले बताउनुभयो ।
घर तथा टहरो भत्काउने, सडक फराकिलो बनाउने, पक्की पुल टेवा पर्खाल तथा कल्भर्ट निमाँणको काम धमाधम गरिएको उहाँले जानकारी दिनुभयो । यस खण्डमा ६३१ घरटहरा भत्काइने छ ।