• २३ वैशाख २०८१, आइतबार

सेनाले गर्‍यो फायर फाइटिङ नमुना अभ्यास

blog

पोखरा समाचारदाता 

पोखरा, कात्तिक २३ गते । एकातिर धुवाँको मुस्लोसँगै आगो दनदनी बलिरहेको थियो भने अर्कातिर मानिस हारगुहार गरिरहेका थिए । पोखरा महानगरपालिका–२६, विजयपुरका घरबस्तीमा लागेको आगो निभाउने स्थानीयको प्रयास सार्थक हुन सकेको थिएन । दिनको समय जताततै मानिस थिए । कहाँ के भयो भन्ने खुल्दुली भएको थियो । 

त्यतिबेला नेपाली सेनासहितको उद्धार टोली आइपुग्यो । केही घाइतेको उपचारमा लागे भने केहीले दमकलको सहायताले आगो निभाउन थाले । पोखरा महानगरपालिका–२६, विजयपुर पश्चिम पृतना हेडक्वाटरको पूर्व र पश्चिम साइडमा आगलागी नियन्त्रणसम्बन्धी नमुनाका लागि बनाइएको घरबस्ती थियो र त्यहीँ आगो लागेको थियो । गण्डकी प्रदेश सरकारको आयोजना तथा पश्चिम पृतना हेडक्वाटर पोखराको व्यवस्थापनमा सञ्चालित विपत् उद्धार कार्यमा खटिने सुरक्षाकर्मीका लागि एकहप्ते फायर फाइटिङ तालिम प्रशिक्षणको समापनमा नमुना प्रदर्शन गरिएको थियो । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५० जना सहभागी थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमाणपत्र प्रदान गर्दै खोज तथा उद्धार एवं राहत वितरणका लागि समन्वयात्मक ढङ्गबाट अगाडि बढ्न एकीकृत तालिमको आवश्यकता महसुस गरी पहिलो पटक यस्तो तालिम ल्याएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले २०७२ सालको भूकम्पको पीडा भुल्न नपाउँदै जाजरकोटको भूकम्प, गत वर्षको यति एयरलाइन्सको दुर्घटना र हालै मात्र भएको मुस्ताङ, कागबेनीको बाढीपहिरो जस्ता दैवीप्रकोपका घटनाबाट ठुलो क्षति भएको उल्लेख गर्नुभयो । उहाँले आगलागी समस्या झनै जटिल बन्दै गएकाले यस्ता विपत्जन्य घटनाको न्यूनीकरणमा उचित व्यस्थापन गरी समुदायसमेत यस्ता कार्य लैजाने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

गत वर्ष देशभर तीन हजार ८१४ स्थानमा आगलागी भएको र ११२ जनाले ज्यान गुमाउनु परेको थियो भने झन्डै १२ सय घर पूर्ण रूपमा क्षति भएका थिए । सो आगलागीमा दुई अर्ब ६५ करोड बराबरको क्षति भएको अनुमान थियो । गण्डकी प्रदेशमा मात्रै २७० स्थानमा आगलागीका घटना भएका थिए भने १० जनाको मृत्यु भएको थियो । जसमा गण्डकी प्रदेशमा मात्रै नौ करोड रुपियाँ बराबरको क्षति भएको थियो । पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति दीपककुमार बानियाँले उद्धार कार्यमा खटिने सुरक्षाकर्मीले सुरक्षा र सावधानीमा सम्झौता गर्न नहुने बताउँदै रामेछापको आगलागी नियन्त्रण गर्दा १० जना सुरक्षाकर्मी गुमाउन परेको तितो यथार्थ सुनाउनुभयो ।