ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको सिद्धिडाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथीभराको जिल्ला ताप्लेजुङमा सिद्धिडाँडा नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
यहाँको कञ्चनजङ्घा र पाथीभरा दुई मुख्य पर्यटकीय तथा धार्मिक गन्तव्य हुन् भने अन्य थुप्रै पर्यटकीय गन्तव्य रहेका छन् । पर्यटकीय स्थलमध्ये सदरमुकामनजिक रहेको नयाँ पर्यटकीय गन्तव्य हो सिद्धिडाँडा । फुङ्लिङ नगरपालिका–९, हाङ्देवास्थित सिद्धिडाँडाको आकर्षणले पर्यटकलाई लोभ्याउने गरेको छ । फुङ्लिङ बजारदेखि साढे दुई किलोमिटर दुरीमा पर्ने सिद्धिडाँडामा रहेको नागपोखरी, महादेवको मन्दिर, गुरुङ गुम्बाजस्ता संरचना रहेका छन् ।
एकनासको पानी झर्ने पाँच धारा, स्वागतद्वार र वरिपरि रहेको अलैँची बगानले पनि पर्यटकलाई आकर्षित गराउने गरेको छ । हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको सिद्धिडाँडालाई दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पोखरी र आसपासका क्षेत्रलाई सौन्दर्यीकरण सुरु गरिएको बताउनुभयो । वडाध्यक्ष गुरुङका अनुसार आकर्षक पर्यटकीय गन्तव्यसँगै सिद्धिडाँडामा धार्मिक सहिष्णुता झल्काउने संरचना निर्माण गरिएका छन् भने निर्माणको व्रmम पनि जारी रहेको छ ।
मठमन्दिरसम्म पुग्ने पदमार्ग निर्माणसँगै नेपाली सेना, सामाजिक सङ्घ संस्थाको पहल साथै सरकारी निकायको बजेटबाट पूर्वाधार तयार भएका छन् । प्रशस्त सम्भावना बोकेको सिद्धिडाँडाको विकास गर्न भने अझ धेरै आवश्यकता रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । यस ठाउँको प्रवर्धनका लागि थप पूर्वाधार निर्माण गर्न प्रदेश तथा सङ्घीय सरकारको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।