• ११ मंसिर २०८१, मङ्गलबार

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

blog

फाइल तस्बिर

चितवन, कात्तिक २२ गते । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ । चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो ।

यसका लागि निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ । तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । निकुञ्जको ६७  सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । “त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ” उहाँले भन्नुभयो, “कार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाइएको छ ।” निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डुङ्गालगायतबाट नियमित गस्ती गर्ने गरिन्छ । 

यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ । यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ । निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ । निकुञ्जका ठाउँठाउँमा सिसी क्यामरा र स्पाई क्यामरा राखिएको छ । निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन् । 

पछिल्ला दिनमा जङ्गली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुः ख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उहाँले जानकारी दिनुभयो । निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्याक्टरमार्फत् निगरानी गरिरहेका छन् । जसका कारण निकुञ्ज सुरक्षामा सहयोग पुगेको छ । वर्षात र चाडपर्वको समयमा तस्कर सक्रिय हुनसक्ने भएकाले विशेष निगरानी गरिएको हो । 

कलात्मक ढुङ्गेधारा निर्माण

धार्मिक तीर्थस्थल देवघाट जाने बाटोमा कलात्मक ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका-१ स्थित देवघाटधामको विश्रामस्थलमा निर्मित सो ढुङ्गेधारा देवघाटधाम आउने तीर्थालु र मलामीलाई लक्षित गरी निर्माण गरिएको हो । 

देवघाटमा शव लैजाँदा उक्त ठाउँमा शव रोकी पिण्ड दिने प्रचलन रहेको छ । पिण्ड दिन जल-पानी आवश्यक पर्ने भएकाले उक्त ठाउँमा ढुङ्गेधारा निर्माण गरिएको हो । बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाले भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज धाराको शुभारम्भ गर्दै भरतपुरमा पहिलो पटक ढुङ्गेधारा निर्माण भएको बताउनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो । 

भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार खर्च भएको प्रमुख उहाँले बताउनुभयो । धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ‘ट्रिटमेन्ट प्लान्ट’ पनि निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । उक्त स्थानमा बाँदरलगायतका वन्यजन्तुको समेत वासस्थान छ । निरन्तर पानी बहने ढुङ्गेधारामा वन्यजन्तुले समेत पिउन सहज भएको छ । रासस