ढाका, कात्तिक २२ गते । यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् ।
स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)को पछिल्लो आँकडाअनुसार यो वर्ष डेंगुको प्रकोप चिन्ताजनक अवस्थामा पुगेको छ । नोभेम्बर ७ सम्म कुल दुई लाख ८३ हजार पाँच सय ९३ सङ्क्रमित भएका छन् भने एक हजार चार सय २५ को मृत्यु भएको छ ।
महानिर्देशनालयले यो वर्ष जुलाईमा दुई सय चार, अगस्टमा तीन सय ४२, सेप्टेम्बरमा तीन सय ९६, अक्टोबरमा तीन सय ५९ र नोभेम्बरमा ७७ जनाको डेंगुबाट मृत्यु भएको जनाएको छ । गत महिना ६७ हजार सात सय ६९ मानिसमा डेङ्गु सङ्क्रमण भएकामा नोभेम्बर १ देखि ७ सम्म थप १२ हजार चार सय १८ जना सङ्क्रमित भएका छन् ।
बङ्गलादेशमा सेप्टेम्बरमा डेंगुका घटनामा उच्च वृद्धि भएको थियो । उक्त महिनामा ७९ हजार पाँच सय ९८ नयाँ सङ्क्रमण र तीन सय ९६ जनाको मृत्यु भएको थियो । व्यापकरूपमा डेंगु फैलिएपछि चीनले मङ्गलबार बङ्गलादेशलाई डेगुविरोधी आपत्कालीन आपूर्तिको समूह प्रदान गरेको छ । रासस/सिन्ह्वा