अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक २२ गते । म्याग्दीमा एआरटी सेबा सुरु भएपछि आठ जना नागरिकको एचआइभी तथा एड्स सङ्क्रमणबाट मृत्यु भएको छ । वि.सं २०७१ बाट एचआइभी तथा एड्स एन्टीरेट्रोभाइरल थेरापी(एआरटी) सेन्टर सुरु भएपछि हालसम्म आठ जनाको मृत्यु भएको हो ।
म्याग्दीको बेनी अस्पतालमा सञ्चालित एआरटी सेन्टरमा हालसम्म एक सय १७ जनाले सेवा लिएका छन् । तीमध्ये आठ जनाको मृत्यु भएको क्षयरोग, कुष्ठरोग तथा एचआइभी तथा एड्स फोकल पर्सन स्टाफ नर्स पशुपति बानियाँले जानकारी दिनुभयो । हाल बेनी अस्पतालको एआरटी सेन्टरबाट ८८ जनाले नियमित रूपमा औषधि लगेर प्रयोग गरी रहेका छन् । ८८ मध्ये १८ वर्ष मुनिका पाँच जनामा रहेकोमा चार बालक र एक जना ५ वर्षीया बालिकाले पनि नियमित रूपमा औषधि सेवन गरिरहेका छन् ।
अस्पतालमा उपचारका लागि आउँदा पहिचान भएका र अन्य शिविरहरूबाट पहिचान भएकाहरू पनि बेनी अस्पतालबाट निमित्त रूपमा निःशुल्क औषधि सेवन गर्ने गरेको अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.अञ्जु थापाले बताउनुभयो । जुनसुकै माध्यमबाट पहिचान भएकाहरू भए पनि उनीहरूलाई एआरटी सेन्टरबाट औषधि उपलब्ध गराउने गरिएको डा.थापाले बताउनुभयो ।
एचआइभी तथा एड्स जस्तै बेनी अस्पतालबाट २२ जनाले नियमित रूपमा क्षयरोग(टिबी)को औषधि प्रयोग गरी रहेका छन् । पर्वतको जलजला गाउँपालिकाका एक जनासहित २२ जनाले हाल औषधि सेवन गरिरहेको फोकल पर्सन बानियाँले बताउनुभयो । पाँच जना महिला र सात जना पुरुष फोक्सोको टिबीका सङ्क्रमित रहेका छन् । त्यस्तै पाँच/पाँच जना महिला र पुरुष फोक्सोभन्दा बाहिरको अन्य अङ्गमा टिबी लागेर नियमित निगरानीमा औषधि सेवन गरिरहेका छन् ।
जलजला गाउँपालिकाका एक जनासहित तीन जना कुष्ठरोगीले पनि बेनी अस्पतालबाट औषधि प्रयोग गरिरहेको फोकल पर्सन बानियाँले बताउनुभयो । एक जना पर्वत जिल्लाको जलजला गाउँपालिकाको र दुई जना बेनी नगरपालिका–५ का कुष्ठरोगीले नियमित औषधि प्रयोग गरिरहेका छन् ।