• ११ मंसिर २०८१, मङ्गलबार

प्रादेशिक विश्वविद्यालय : आवेदन दिने समयसँगै विषय थप गरियो

blog

हेटौँडामा रहेको बागमती प्रदेशको उच्च शिक्षा परिषद्को सचिवालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, कात्तिक २२ गते । 
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडाले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिने म्याद पुनः थप गरेको छ ।

परिषद्ले अन्य सामुदायिक एवम् सार्वजनिक शैक्षिक संस्थाहरुलेसमेत आवेदन दिन इच्छा देखाएका भन्दै आवेदन दिने म्याद थप गरेको हो ।

परिषद्ले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्नका लागि आवेदन दिने म्याद थप गर्दै क्षेत्र र विषयसमेत थप गरेको छ ।

मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसालले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्नसक्ने गरी विषय र क्षेत्रसमेत थप गरी आवेदन दिने म्याद थप गरेको जानकारी दिनुभयो ।

यसअघि गत असोज ७ गते विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न इच्छुक क्याम्पस वा शैक्षिक संस्थाहरूमध्ये स्वास्थ्य, सूचना प्रविधि( इन्जिनियरिङसमेत) र कानुन क्षेत्रमा आवेदन माग गरिएको थियो । आवेदन माग गरिएअनुसार प्रदेशभित्रका छ वटा सामुदायिक एवम् सार्वजनिक शैक्षिक संस्थाहरूले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि प्रस्तावसहित आवेदन दिएका थिए ।

खेलकुद र पर्यटन क्षेत्र थप गरी आवेदन दिने म्याद थप गरिएको भन्दै मन्त्रालयका सचिव भुसालले भन्नुभयो, ‘‘कतिपय क्याम्पस र शैक्षिक संस्थाले चाडपर्व परेका कारण कागजात जुटाउन समस्या भएको भन्दै म्याद थपको माग गरेका कारण आवेदन दिने समय थप गर्ने निर्णयमा पुगेका हौँ ।’’

यसअघि मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा, धुलिखेल हस्पिटल, धुलिखेल, काठमाडौँ स्कुल अफ ल, सूर्यविनायक, भक्तपुर, बानेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ, मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौँ र डी डब्ल्यु आइटी कलेज, काठमाडौँले आवेदन दिएका थिए ।