लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक २२ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले पटाका नपड्काउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
आउँदै गरेको दीपावली र छठ पर्वको अवसरमा आतिसवाजी गर्दै पड्काइने पटाका तथा अति प्रज्वलनशील जस्ता पदार्थ नपड्काउन तथा बिक्री वितरण समेत नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेको हो ।
जारी सूचनामा, सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरू गरेको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
यस्तै, प्रशासनले जुवा, तास नखेल्न र नखेलाउनसमेत आग्रह गरेको छ । मर्यादित रूपमा चाडपर्व मनाउन अनुरोध गर्दै प्रशासनले नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्नुपर्ने बताएको छ ।
देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरू राति १० बजेसम्म मात्रै गर्न जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।