• ७ जेठ २०८१, सोमबार

राहतको पर्खाइमा त्रिवेणीका भूकम्पपीडित

blog

त्रिवेणी गाउँपालिका–९ मा भत्किएको सर्वसाधारणको घर । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुम पश्चिम, कात्तिक २२ गते । 
जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते आएको भूकम्पका कारण प्रभावित बनेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूकम्पपीडित राहतको पर्खाइमा रहेका छन् । यहाँका प्रभावितहरूले हालसम्म त्रिपालसमेत नपाएको गुनासो गरेका छन् ।

त्रिवेणी गाउँपालिकाले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार यहाँका एक हजार ९३५ घर पूर्णरुपमा क्षति भएका छन् भने एक हजार २५८ घर आंशिक रूपमा क्षति भएका छन् । त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार त्रिवेणी गाउँपालिकाका प्रभावितहरूले हालसम्म कुनै पनि निकायबाट राहत पाउन सकिरहेका छैनन् । पालिका एक्लै विपद्को सामना गरिरहेको जानकारी दिनुहुँदै एकलैले मात्र त्यो सम्भव नरहेको उहाँले बताउनुभयो । सयौँ घरपरिवार विस्थापित भएर बसिरहेको बताइन्छ ।

उहाँका अनुसार सयौँ घरपरिवारहरू त्रिपाल तथा टेन्ट नपाएर खुला आकाशमुनि चिसो रात बिताउन बाध्य भएका छन् । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकहरूमा स्वास्थ्य समस्या बढ्न थालेको बताइएको छ ।

हालसम्म गाउँपालिकामा युनेस्कोले २० वटा त्रिपाल र सशस्त्र प्रहरीले २६८ वटा त्रिपाल मात्र उपलब्ध गराएको छ । गाउँपालिकाले प्रभावितहरूलाई राहतको व्यवस्था गरिदिन विभिन्न निकायहरूलाई अनुरोध समेत गरेको छ ।