काठमाडौँ, कात्तिक २२ गते । सहरी विकास मन्त्रालयले सङ्घीय संसद्को हिउँदे अधिवेशनको प्रारम्भसँगै निर्माणाधीनमध्ये पाँच वटा भवन निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । हिउँदे अधिवेशनमा मुख्य पाँच भवन निर्माण सक्ने दाबी मन्त्रालयले गरेको हो ।
मन्त्रालयले भवन निर्माणको प्रगति र आन्तरिक साजसज्जा (इन्टेरियर) को कामबारे मङ्गलबार सभामुख देवराज घिमिरेसहितका पदाधिकारीलाई जानकारी गराएको हो । हिउँदे अधिवेशनका बैठक नयाँ भवनबाट राख्ने गरी काम सम्पन्न गर्न यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख घिमिरे तथा सहरी विकासमन्त्री सीता गुरुङले ठेकेदारलाई पटक पटक निर्देशन दिनुभएको थियो ।
मङ्गलबारको जानकारी दिँदै आयोजना प्रमुख मचाकाजी महर्जनले पाँच वटा भवन हिउँदे अधिवेशनमा तयार पार्ने उद्देश्यसाथ काम भइरहेको बताउनुभयो । महर्जनले भन्नुभयो, “हिउँदे अधिवेशनसम्ममा कम्तीमा पाँच वटा भवन जसरी पनि तयार पार्ने लक्ष्य अनुसार काम भइरहेको छ । हामीले ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेका छौँ ।”
महर्जनका अनुसार परिसरका कुल १२ भवनमा समग्रमा ७५ प्रतिशत भौतिक प्रगति भएको र सात वटा भवनमा छानो लगाउने काम सकिएको उहाँले बताउनुभयो । संसद् परिसरमा बन्ने तीन वटा गेट अन्तिम चरणमा रहेको, भवनमा जडान हुने एसीको काम ११ प्रतिशत सकिएको र अन्य इन्टेरियरको काम सुरुवात र कतिपयको खरिद प्रक्रियाको काम अघि बढाइएको उहाँको भनाइ छ ।
‘कन्फ्रेन्सिङ सिष्टम’ बारे जानकारी
मन्त्रालयले भवनमा रहने दुई सभा हलमा प्रयोग हुने ‘कन्फ्रेन्सिङ सिष्टम’ बारे सभामुखसहितका पदाधिकारीलाई जानकारी गराएको छ । तर खरिद सम्झौताअघि मात्र सोबारे जानकारी गराइएको हो । सभामुखसहितका पदाधिकारीले आन्तरिक आवश्यकता मनन गरेर मात्र उक्त प्रणाली जडान गर्न सुझाव दिएका छन् । जर्मनीको टेलिभिक कम्पनीसँग मन्त्रालयले उक्त सिष्टम खरिद गर्न लागेको हो । दुई अर्ब रुपियाँभन्दा बढीको सिष्टम प्रयोगमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
प्रस्तुति अनुसार सात इन्चको डिजिटल डिस्प्ले रहेको मल्टिमिडिया कन्फ्रेन्सिङ सिष्टम जडान हुने छ । जसबाट कुनै प्रस्तावको मतदानसमेत टचबाटै सांसदहरूले गर्न पाउने छन् । विभिन्न छ भाषामा अनुवादको व्यवस्था हुने पनि कम्पनीले जनाएको छ । आन्तरिक आवश्यकता अनुसार मिलाउन सकिने विशेषता पनि कम्पनीका प्रतिनिधिले बताएका छन् ।
तर टेन्डर स्वीकृत चरण पूरा भइसकेकाले अब नयाँ विशेषता थप्दा गर्दा भेरियसनमा जानुपर्ने पनि प्रतिनिधिहरूको भनाइ छ । संसद् पदाधिकारीले भने आन्तरिम आवश्यकताबारे सचिवालयसँग परामर्श नगरी सिष्टम जडान गर्न लागेकोमा मन्त्रालयलाई भने प्रश्न गरेका छन् ।
थप छलफल आवश्यक
यस्तै सभामुख घिमिरेले भवनको कन्फ्रेन्सिङ सिष्टमबारे दुवै पक्षबिच थप बृहत् छलफल आवश्यक भएको बताउनुभयो । घिमिरेले भन्नुभयो, “प्रविधि कस्तो राख्ने, हामीलाई कस्तो चाहिने भन्नेमा थप द्विपक्षीय छलफल आवश्यकै छ ।” घिमिरेले दुई महिनामा भवनका मुख्य हल निर्माण सकिने वा नसकिने प्रश्न गर्नुभयो । संसद्ले भने हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने भन्दै चाँडो सक्न बारम्बार ताकेता गर्दै आएको छ ।
कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो ।