• ११ मंसिर २०८१, मङ्गलबार

अकुत सम्पत्ति मुद्दामा भण्डारीलाई सफाइ

blog

काठमाडौँ, कात्तिक २२ गते । विशेष अदालतले बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक एवं नेपाल सरकारका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अकुत सम्पत्ति अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । 

भण्डारीसँग छ करोड रुपियाँभन्दा बढी गैरकानुनी सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ असार ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले सोमबारदेखि नै मुद्दालाई हेर्दाहेर्दैमा सुनुवाइ गरेको थियो । सुनुवाइपछि मङ्गलबार फैसला गरेको हो। 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायकका रूपमा सार्वजनिक सेवा प्रवेश गर्नुभएका भण्डारीले २०७७ साउन १ गतेदेखि स्वेच्छिक अवकाश लिनुभएको थियो । उहाँ २०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गर्नुभएको थियो । अख्तियारले भण्डारीसँग विभिन्न कम्पनीमा लगानी र संस्थापक सेयर रहेको र लगानी स्रोतसमेत नखुलेको दाबी गरेको थियो । आयोगको दाबीलाई अदालतले अस्वीकार गरेको हो । सार्वजनिक सेवा प्रवेशपछि २०७८ पुस मसान्तसम्मलाई अख्तियारले जाँच अवधि कायम गरेको थियो । 

भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचतलगायतबाट २६ लाख ६१ हजार ६३६ रुपियाँ वैध आय भएको अख्तियारको दाबी थियो । यस्तै जग्गा खरिद, विभिन्न बैङ्क तथा हाइड्रोपावर कम्पनीको सेयर खरिद र विभिन्न बैङ्कमा रहेको मौज्दातसमेत गरी छ करोड ५० लाख ६५ हजार ६४२ रुपियाँ भण्डारीसँग रहेको अख्तियारको दाबी थियो । 

जसमध्ये छ करोड २४ लाख चार हजार छ रुपियाँ सम्पत्तिको स्रोत नखुलेको अख्तियारको जिकिर थियो । विशेषको फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ ।