काठमाडौं, कात्तिक २१ गते । काठमाडौँ महानगरपालिकाले कात्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ । सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा भएका चौपायालाई त्यहाँ राखिने महानगरले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यस सम्बन्धी व्यवस्था छ । काञ्जी हाउसमा लगिने गाईबाच्छा राख्ने पूर्वाधारको अवलोकन निरीक्षणका लागि आज कृषि तथा पशुपन्क्षी विभाग र प्रमुखको सचिवालयका अधिकारीहरूले स्थलगत अवलोकन गर्नुभयो ।
महानगरपालिकाको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा. अवधेश झाले भन्नुभयो, “काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्दछौँ ।”
यसैगरी, दक्षिणकाली नगरपालिका वडा नं. ७ का अध्यक्ष हरिप्रसाद तिमल्सेनाले भन्नुभयो, “महानगरपालिकाका सडक चौपाया व्यवस्थापन गर्न हामीले सहकार्य गरेका हौँ । यसमा दक्षिणकाली नगर क्षेत्रकै छाडा चौपाया पनि व्यवस्थापनमा सहयोग हुनेछ ।”
बुधबारबाट महानगरका चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा सङ्कलन गरेर टेकु ल्याइनेछ । महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो, “सङ्कलन र ढुवानीका क्रममा पशुकल्याणलाई ख्याल गरिनेछ ।”
यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिका बिच सम्झौता भएको हो ।
सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो । प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरेर थालिएको पशुपालन कोविड लगायत समस्याबाट नियमित हुन सकेन । यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने सर्तसहित सम्झौता भएको हो ।
सम्झौताबमोजिम लगानी फिर्तासहितका काम गर्न काठमाडौँ महानगरले दक्षिणकाली नगरलाई ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइ सकेको छ । काञ्जी हाउनसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ । थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरपालिकाले गर्नेछ । पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधी, उपकरणको प्रबन्ध महानगरले गर्नेछ ।
यस ठाउँमा १२६ रोपनी जमिन छ । यस ठाउँमा महानगरपालिकाले डाले तथा भुईँ घाँस लगाउन सक्नेछ ।
छाडा चौपाया व्यवस्थापन गर्न महानगरपालिकाले विभिन्न प्रयास गर्दै आएको थियो । यसमध्ये चौपाया लिलामी एउटा विधि थियो । सडकमा भएका चौपाया जम्मा गरेर आर्थिक वर्ष २०५७/०५८ एक वर्षमा १६० गाईबाच्छा लिलामी गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७०÷२०७१ मा ३८८ वटा चौपाया लिलामी गरियो । लिलामी गर्न पुग्ने सङ्ख्या बनाउन त्यसबेला टेकु ट्रान्सफर स्टेसन नजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो । लिलाम गरिएका चौपाया कहाँ लगिन्छन् ? उनीहरू सुरक्षित रहन्छन् त ? प्रश्न आएपछि महानगरपालिकाले लिलाम गर्ने प्रक्रिया रोकेको थियो ।
महानगरपालिका क्षेत्रभित्र गाई पालन गर्ने गोठ र सडकमा भएका चौपायाको सङ्ख्या यकिन छैन । समय समयमा सडकमा हुने सवारी दुर्घटनाको कारण छाडा चौपाया भएपछि उनीहरूकै सुरक्षाका लागि पनि निश्चित ठाउँमा राख्नु पर्ने भएको छ ।