• १२ साउन २०८१, शनिबार

सल्यानमा भूकम्पबाट पाँच सय २६ घर क्षतिग्रस्त

blog

दार्मा गाउँपालिकामा भूकम्पले प्रभावित भएका घर हरु । तस्बिर: गोरखापत्र

प्रतीक इच्छुक शर्मा

सल्यान, कात्तिक २१ गते । यहाँ भूकम्पबाट पाँच सय २६ घर क्षतिग्रस्त भएका छन्। गत शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको  भूकम्पबाट सल्यानमा पनि सयौँ घर क्षतिग्रस्त भएको हो ।  

९५ घर पूर्ण, २५६ आंशिक र १७२ घर सामान्य क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ। कार्यालयका अनुसार सबैभन्दा बढी दार्मा गाउँपालिकाका ३९८ घरमा क्षति पुगेको छ ।

 प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले दार्मामा ९३ वटा पूर्ण, २३६ आंशिक र ६८ घरमा सामान्य क्षति पुगेको  बताउनुभयो । उहाँका अनुसार  क्षतिको विवरण सङ्कलन भइरहेको र क्षतिको विवरण बढ्न सक्नेछ ।

बागचौर नगरपालिकामा २६, बनगाड कुपिन्डे नगरपालिकामा ५२, कपुरकोट गाउँपालिकामा २६, सिद्ध कुमाख गाउँपालिकामा २०, शारदा नगरपालिकामा ३, त्रिवेणी गाउँपालिकामा १ घरमा क्षति पुगेको छ । 

भूकम्पले क्षति पुगेपछि पीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन्। पीडितले जाजरकोट र रुकुम पश्चिममा केन्द्रित  भएको तर आफूलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ। दार्मा गाउँपालिका २  लिरापाजाका बहादुर दमाईले आफूहरू खुल्ला चौरमा बस्नु परेको बताउनुभयो ।

मानवीय क्षति नभए पनि रुकुम  र जाजरकोट बराबर भौतिक क्षति भएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले दार्माका धेरै बासिन्दा खुला आकाशमुनि बस्न बाध्य भएको र पालिकाको स्रोतले राहत वितरण गरिरहेको बताउनुभयो । उहाँका अनुसार पालिकाले आफ्नै स्रोत साधनले मात्र थेग्न सक्ने अवस्था छैन ।