• २७ वैशाख २०८२, शनिबार

कैलाशमा सडक सञ्जाल विस्तार हुँदै

blog

हेटौँडा समाचारदाता

हेटौँडा, कात्तिक २१ गते  । मकवानपुरको कैलाश गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय सरकारको लगानीमा सडक विस्तार भइरहेको छ । गाउँपालिकाको केन्द्र कालिकाटारलाई त्रिभुवन राजपथसम्म जोड्ने र विभिन्न वडामा सडक सञ्जाल विस्तारका लागि सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो । 

सडक स्तरीकरणपछि यातायातको सहज पहुँचसँगै आवतजावत एवं यहाँ उत्पादित कृषि उपज बजारसम्म पु-याउन सहज हुने कैलाश गाउँपालिकाको अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । गाउँपालिकाले वडालाई गाउँपालिका केन्द्रसम्म जोड्न र विभिन्न टोलमा सडक सञ्जाल विस्तारका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । सालबास–सानो डाँडाखर्क–छ्याङदुङ सडक निर्माण र व्रिmस्चियन चोकदेखि मर्याङकोट खोला सडक स्तरीकरण गर्न ठेक्का आह्वान भइसकेको गाउँपालिकाका अध्यक्ष मुक्तानले बताउनुभयो ।

बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय चितवनले चुनियाँ–नामटार–कालिकाटार सडक अन्तर्गत कुमलटारदेखि वनझाँव्रmी खोल्चा (च्याखेटार) खण्डको साढे सात किलोमिटर सडक १४ करोड २१ लाख २९ हजार ५९० रुपियाँ लागतमा १८ महिनाभित्र स्तरोन्नति गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेर काम अगाडि बढाइएको छ । 

यस्तै चुनियाँ–नामटार–कालिकाटार सडक अन्तर्गत विभिन्न खण्डसँगै थाहा नगरपालिकाबाट कैलाश गाउँपालिकाका विभिन्न वडा हुँदै धादिङ जिल्ला जोड्न गैरीगाउँ, गोगने पकने डाँडाखर्क सडक निर्माण गर्न सडक विभागले ४० करोड रुपियाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको छ । वडा नं. ५ र ६ का नागरिकलाई गाउँपालिका केन्द्र कालिकाटारसम्म पुग्ने छोटो दुरीको गोगने–कालिकाटार सडक निर्माण गर्न पालिकाले एक करोड ३७ लाख रुपियाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको छ ।  

चुनियाँ–नामटार–कालिकाटार सडक अन्तर्गतको नामटार–खुमलटार सडक स्तरीकरणको काम अन्तिम चरणमा रहेको छ । तीन करोड ९४ लाख ३५ हजार रुपियाँमा ठेक्का सम्झौता भई माटो कटिङ, ग्याबिन वाल, स्टोन मेसिनरीलगायतको काम भइरहेको छ । “सङ्घ, प्रदेश र स्थानीय सरकारको लगानीमा यस खण्डको तीन किलोमिटर सडक स्तरीकरण हुने छ । सडक फराकिलो बनाउन पर्खाल लगाउने कामका लागि सङ्घीय सरकारको समपूरक अनुदानबाट ७० लाख र प्रदेश सरकारको ७० लाख गरी गत आर्थिक वर्ष एक करोड ४० लाख रुपियाँ बराबरको काम भयो । बाँकी रकम चालु आवमा गाउँपालिकाले बेहोर्ने छ,” गाउँपालिकाका अध्यक्ष मुक्तानले भन्नुभयो । बहुवर्षीय योजना अन्तर्गत १८ महिनामा सम्पन्न गर्ने गरी काम भइरहेको हो । 

त्रिभुवन राजपथको चुनियाँदेखि कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार २१ किलोमिटरको दुरीमा रहेको छ । चुनियाँ–नामटार–कालिकाटार सडक २०३७ सालदेखि चलनचल्तीमा रहे पनि स्तरीकरण नहुँदा समस्या भोग्दै आउनु परेको स्थानीय सुन्दर रानामगरले बताउनुभयो ।