• ४ जेठ २०८१, शुक्रबार

सडक विस्तारका लागि बागबजारमा चल्यो डोजर

blog

बागबजार क्षेत्रमा डोजर लगाई सडक क्षेत्राधिकारभित्रका संरचना भत्काइँदै ।

पुष्कर भण्डारी

डडेलधुरा, कात्तिक २१ गते । जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा सडक क्षेत्राधिकारभित्रका संरचना हटाउन डोजर चलाइएको छ । घरधनी तथा व्यापारीले आफैँ भत्काउन अटेर गरेपछि अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालय डोटीले डोजर चलाएको हो । 

सडक क्षेत्राधिकारभित्र रहेका घर, टहरा, सिँढी सबै भत्काउन थालेको छ । अमरगढी नगरपालिकाले बसपार्कमा रहेका तीन सटर भएको आफ्नै भवन भत्काएर सर्वसाधारणका संरचना भत्काउन थालेको हो । 

सडकको बिचभागदेखि १५–१५ मिटर दायाँबायाँभित्र बनेका टहरा हटाउन बाँकी घर र सिँढी डोजर लगाई हटाउन सुरु गरेको वडा नं. ५ का अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताउनुभयो । 

बागबजार क्षेत्रमा सर्वोच्च अदालतको फैसलापछि सडक डिभिजन कार्यालयले मुआब्जा बाँडेको थियो । मुआब्जा पाएका घरधनीले समेत घर, सिँढी नहटाएपछि नगरपालिका र सडकले भत्काउन थालेको उहाँले बताउनुभयो । 

दुई वटै कार्यालय र वडा कार्यालयले बारम्बार भत्काउन सूचना जारी गर्दा समेत घरधनी र व्यापारीले अटेरी गरेपछि डोजर लगाई हटाउन थालेको उहाँले बताउनुभयो । सडक छेउमा खोका छाप्रा बनाई फलफूल, तरकारी बेच्दै आएका व्यापारी विस्थापित भएका छन् । 

सोमबार बिहान साढे १०:०० बजेदेखि अवैध संरचना हटाउन थालिएको उहाँले जानकारी दिनुभयो । डोजर लगाएपछि अहिले स्थानीय आफैँले पनि सिँढी हटाउन थालेको उहाँले बताउनुभयो । 

सडक किनारका व्यापारीका लागि नजिकै रहेको डडेलधुरा उद्योग वाणिज्य सङ्घमा सटरहरू निर्माण गर्न लागेको उहाँले बताउनुभयो । सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । 

सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपुर्जा पनि आइसकेको छ । बागबजार क्षेत्रमा ३०० मिटरमा सडक फराकिलो बनाउन सरकारले मुआब्जा बाँडेको थियो । 

तर घरपेटीले १५ मिटरभित्रै सिँढी राखेका थिए भने सटरअगाडि पुरानो सडकसम्मै व्यापार व्यवसाय गर्दै आइरहेका थिए । पहिलो चरणमा १०६ र दोस्रो चरणमा २८४ गरी ३९० जनालाई मुआब्जा वितरण गरिएको सडक डिभिजन कार्यालय कुलपातेका प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो पटक २० करोड र त्यसपछि ३० करोड मुआब्जा वितरणका लागि बजेट आएको थियो । उक्त रकम बाँडिसकिएको छ । सडक फराकिलो पारी विस्तार गर्न ५२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।