• ६ जेठ २०८१, आइतबार

पुर्ख्यौली पेसा सङ्कटमा परेसँगै मादल व्यवसायी चिन्तित

blog

कावासोतीको हुलाकी मादल पसलमा मादल बनाउँदै विजय नेपाली । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक २० गते । नेपालीको दोस्रो ठुलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । देउसी–भैलो, फूल बत्ती र सेलरोटीको पहिचानसँग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परासँग जोडिएको तिहारमा अहिले मौलिकता हराउँदै गएको छ ।

पूर्वी नवलपरासीको कावासोती हाटबजार लाइनमा २३ वर्षदेखि सञ्चालित हुलाकी मादल पसल आजभोलि सुनसान छ । तिज, दसैँ–तिहारमा मादलको कारोबार हुने भए पनि अहिले व्यवसाय घट्दैगएको व्यवसायीको भनाइ छ । मौलिक गीत गाउने चलन हराउँदै गएपछि अहिले मादलको व्यापार नभएको कावासोतीमा मादल व्यवसाय सञ्चालन गर्दै आउनुभएका रामप्रसाद नेपालीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मादल व्यवसायबाट जीविकोपार्जन गर्दै आउनुभएका नेपालीले केही वर्ष पहिले मादल व्यवसायबाट मासिक रूपमा २० देखि २५  हजार रुपियाँ हुनेगरेको भए पनि अहिले त्यति भएको छैन । अन्य पेसा नभएको साथै पुर्खादेखि यही पेसालाई निरन्तरता दिंदैआएको छु ।”

बजारमा मादलको माग हुन छाडेको छ । योसँगै मादल बनाउन आवश्यक पर्ने कच्चा पदार्थ काठ, छाला, खरीजस्ता सामग्रीको पनि अभाव हुँदैगएको छ । जसकाकारण मादल बनाएर विक्री गर्ने व्यवसाय पनि घटेको छ । मादल, ढोलक, दमाहालगायतका बाजाको प्रयोगभन्दा पनि आधुनिक उपकरणमा मानिसको आकर्षण बढेकाले पुख्र्याैली पेसा सङ्कटमा परेको विजय नेपालीले बताउनुभयो । 

पछिल्ला दिनमा बदलिँदो साङ्गीतिक माहौलसँगै युवापुस्तामा विदेशी र पश्चिमा संस्कृतिको छाप पर्दैजाँदा नेपाली मौलिक परम्पराका बाद्यबादनप्रतिको मोह नै मर्दैगएको छ । बढ्दो आधुनिकतासँगै इन्टनरनेटको सुविधा सर्वसुलभ हुँदैजाँदा नेपाली मौलिक परम्पराका लोकसंस्कृतिहरू लोपोन्मुख हुँदैगएका छन् । 

बढ्दो आधुनिकताले विकसित गितसंगितप्रति युवापुस्ताको झुकाब बढ्दैगएको  अर्जुन नेपालीको भनाइ छ । तिहारमा विशेषगरी पहिले देउसी भैलो खेल्न नेपाली मौलिकबाजा मादलको प्रयोग गरिन्थ्यो । तिहारलाई लक्षितगरी बनाइएको मादलको त्यो समयमा निकै राम्रो व्यापार हुने गर्दथ्यो । 

पछिल्लो दिनमा यो चाड मनाउने शैलीमा पनि फेरबदल आएसँगै मादल व्यवसाय सङ्कटमा पर्न थालेकोप्रति व्यापारीले चिन्ता व्यक्त गरेका छन् ।