• १३ असोज २०८१, आइतबार

जल यातायातलाई यात्रु पाउन मुस्किल

blog

फाइल तस्बिर

गल्याङ, कात्तिक १९ गते । कालीगण्डकीमा सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुलो जलविद्युत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा २१ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मी आँधी मुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गम सेती वेणीसम्म साढे सात किलोमिटरको दूरीमा स्टिमरले सेवा दिएको छ ।

यहाँ छ-सात वर्ष पहिले दैनिक पाँच सयदेखि एक हजार यात्रुहरूले स्टिमरमार्फत आवतजावत गरिरहेका हुन्थे । हाल भने जल यातायात सेवाले यात्रु पाउन छाडेपछि स्टिम्बर व्यवसायी मर्कामा परेका छन् । स्टिमर नचलेपछि धेरैजसो स्टिमर बिग्रिएर थन्किएका छन्, कुनै स्टिमरलाई बर्खाको भेलले बगायो भने कुनै स्टिमर टुट्ने, फुट्ने र गल्ने भएका छन् । 

आँधीघाट र सेतीवेणी घाटका एकसय जनाको संयुक्त लगानीमा शिलाशालिग्राम जल यातायात समिति गठन गरेर वि.सं.२०५९ वैशाख ९ गतेदेखि यहाँ तीन हातेबोट ‘डुङ्गा’बाट जल यातायात सेवा सञ्चालन गरिएको थियो । शिलाशालिग्राम जल यातायात प्रालिका संस्थापक अध्यक्ष टीकाराम कुँवरले हाते बोटलाई विस्थापित गर्दै २०६२ सालमा नेपालको घाग्राघाटबाट पम्पसेट जडित स्टिमर खरिद गरी सञ्चालन गरिएको बताउनुभयो ।

“स्याङ्जा, पर्वत, गुल्मी, बागलुङका तत्कालीन ३६ गाविसका यात्रुहरुले स्टिमरलाई भरपर्दो यातायातको साधनका रूपमा प्रयोग गर्दै आएका थिए”, उहाँले भन्नुभयो, “वि.सं.२०६२ मा बर्खाको समय कालीगण्डकीमा आएको आँधीले पम्पसेट जडित स्टिमर बगाएपछि हामीले धेरै क्षमताको स्टिमरको खोजी गर्न थाल्यौँ ।” कुँवरले आधुनिक स्टिमरको खोजीमा पाँच जनाको समूह भारतको मुम्बई पुगेको बताउनुभयो ।

उहाँले मुम्बईमा खरिद गर्न पाए पनि लागत धेरै लाग्ने भएपछि कालीगढ झिकाएर आँधी मुहानमै इन्जिन जडित ८० र एकसय जना क्षमताका दुई वटा स्टिमर निर्माण गरेर सञ्चालन गरेको बताउनुभयो । “त्यो बेला नेपालमा जलयातायाको कानुन नभएकाले धेरै झन्झट बेहोर्नुपर्‍यो”, कुँवरले भन्नुभयो, “पछि जल यातायातको कानुनी झन्झट पनि टर्‍यो, जलयात्रा गर्ने पनि बढ्दै गए ।” उहाँले न्यूनतम दुई सय ५० जनाको हाराहारीमा यहाँका नागरिकले स्टिमर सेवाद्वारा यात्रा गर्ने गरेको स्मरण गर्नुभयो ।

कुँवरले कालीगण्डकीमा जल यातायात सञ्चालन भएपछि स्टिमरका ३६ जना कर्मचारी र आँधीघाट र सेतीवेणी घाटका करिब २५ जना भरियाले रोजगार पाएको बताउनुभयो । उहाँले स्टिमरले नियमित ग्राहक पाउन छोडेपछि धेरै जना कर्मचारी र भरियाले पेसा परिवर्तन गरेको बताउनुभयो । नियमित स्टिमर चल्ने यात्रु नभएपछि कुनै समूह खचाखच ग्राहकाले भरिने आँधीमोहन बजार हाल सुनसान भएको कुँवरको भनाइ छ ।

शिलाशालिग्राम जल यातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले कालीगण्डकी नदीको वारिपारि लोकमार्ग र कोरिडोर निर्माण भएपछि यात्रुहरुले स्टिमर चढ्न छाडेर बस, जिप, अटो लगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्मिर व्यवसायीलाई समस्या भएको बताउनुभयो । “सडक सञ्जाल नजोडिँदा सेतीवेणीका व्यापारीको मालसामन ढुवानी गर्ने र साबिकको ३६ गाविसको आवागमन गर्ने गतिलो माध्यम स्टिमर सेवा थियो”, उहाँले भन्नुभयो, “सडक सञ्जाल विस्तार भएपछि सेतीवेणी र आँधीमोहन बजार सुकेको छ, अन्य सवारीसाधनमा भाडा सस्तो भएपछि स्टिमर चढ्ने यात्रु घट्दै गएका छन् ।”

उहाँले बाहिरी जिल्लाबाट शिला शालिग्राम दर्शनका लागि आउने धार्मिक पर्यटकका कारण कहिलेकाहीँ फ्याट्टफुुट्ट मात्र स्टिमर चल्ने गरेको बताउनुभयो । “बर्खामा नदीमा पानीको बहाव धेरै हुने र दुर्घटना हुनसक्ने भएकाले मध्य जेठबाट असार, साउन र भदौ महिना सेवा बन्द गर्नुपर्ने बाध्यता छ”, रानाले भन्नुभयो, “हिउँदको समय शैक्षिक अवलोकन गर्न आउने र विश्व विराट शिला शालिग्रामको दर्शन गर्न आउने धार्मिक पर्यटकका कारणले कहिलेकाहीँ स्टिमर चल्ने गरेको छ ।”

गल्याङ नगरपालिकाका स्थानीय ज्ञान क्षेत्रीले विश्व विराट शिलाशालिग्रामको विकास र प्रचार-प्रसारमा राज्यको ध्यान नपुगेको बताउनुभयो । उहाँले शिलाशालिग्रामको महिमा र महत्त्व श्रीमद् भागवत गीतमासमेत उल्लेख गरिए पनि पछिल्लो समय सबैको हेलाको पात्र बनिरहेको दुखेसो पोख्नुभयो । 

क्षेत्रीले बुढापाकाको भनाइ उद्धृत गर्दै मुक्तिनाथ दर्शन गर्नेहरूले अनिवार्य शिलाशालिग्राम दर्शन गनुपर्छ भन्ने धार्मिक मान्यता रहेको बताउनुभयो । उहाँले मुक्तिनाथदेखि सेतीवेणीसम्मको बाटोको स्तरोन्नति गर्ने र मुक्तिनाथ दर्शन गर्नेहरूले शिलाशालिग्रामको अनिवार्य दर्शन गर्ने परिपाटी बसेमा बजारसहित स्टिम्बरमा पुनः चहलपहल हुने बताउनुभयो । “लोकमार्ग र कोरिडोर खन्ने क्रममा कालीगण्डकी नदीमा फालिएको ढुङ्गाले पानीको सहत पुरिन गएको छ”, उहाँले भन्नुभयो, “नदीमा वर्षौँसम्म भरिएको गेग्रान सफा गरेमा शिलाशालिग्राम दर्शन गर्न पनि सहज हुन्छ, स्टिमर पनि सजिलै शिलासम्मै स्टिम्बर आउन सक्छ ।” रासस