फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक १९ गते । कसैको नामले कर्म सम्झाउँछ, कसैलाई कर्मले नै नाम दिन्छ । बेलायतमा जन्मिनुभएका कलिन फिलिप स्मिथलाई कर्मले नाम दियो, पुतली बाजे । कालान्तरमा धेरैले चिन्ने र सम्झिने नाम यही बन्न पुग्यो । ३० वर्षको लक्का जवान हुँदा नेपालीलाई पढाउन आउनुभएका विदेशी शिक्षक स्मिथ कालान्तरमा नेपाली नै बन्नुभयो ।
मानार्थ नेपाली नागरिकता पाउनुभएका अद्वितीय प्रतिभा पुतली बाजेलाई हामीले गुमाएका छौँ । लामो समयदेखि हरियो खर्क अस्पताल पोखरामा उपचाररत उहाँको शनिबार बिहान ३ बजे ८७ वर्षको उमेरमा निधन भएको हो । सोमबार बिहान शवयात्रासहित उहाँको अन्त्येष्टि गरिने भएको छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपालमा उहाँको अद्वितीय योगदान रहेको बताउनुहुन्छ । उहाँले पुतलीलाई वातावरणसँग सम्बन्धित थुप्रै पुस्तक लेख्नुभएको छ । नेपालमा मात्र पाइने पुतलीका प्रजातिबारे बुझाउनुभएको छ । आचार्यले भन्नुभयो, “बिहे, सुख, सयल नभनी मातृभूमि नै छाडेर
पुतली र नेपालका लागि उहाँले गरेको योगदान कहिल्यै बिर्सन सकिँदैन ।”
प्रमुख आचार्यकै अगुवाइमा पुतली बाजेलाई सन् २०१७ मा रथारोहण गराइएको थियो । त्यो बेला प्रदान गरिएको राष्ट्रिय झन्डा आकृतिको सल र झोला पुतली बाजेले हिँड्न सकुन्जेल छाड्नुभएन । उहाँका मामालाई पुतली मन पथ्र्याे । मामासँगै खेतमा गएर रङ्गीचङ्गी पुतली देख्नुभएका उहाँको मन पुतलीले यसरी आकर्षित ग¥यो कि सास रहेसम्म यो लगाव रहिरह्यो ।
१९९३ साल मङ्सिर ९ गते बेलायतको लन्डन सहरनजिकै जन्मनुभएका स्मिथले एमएस्सी पास गरेपछि २०२२ साल माघमा पोखरा आउनुभएको थियो । उहाँ गणित र विज्ञान पढाउनुहुन्थ्यो । पुतली बाजेका विद्यार्थी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्यो बेला पनि समय मिल्यो कि पुतली समाउन दौडने उहाँ गुरुलाई सम्झनुहुन्छ ।
उनका अनुसार नेपालमा ६२० जातिका पुतली छन् । उहाँले नेपालका गाउँ गाउँ डुली पुतली सङ्कलनसमेत गर्नुभएको छ । पोखरा पृथ्वीनारायण क्याम्पसभित्र पुतली सङ्ग्रहालय नै छ । कर्मभूमिकै नागरिक बनेर मर्ने उहाँको धोको जीवनको उत्तरार्धमा मात्र पूरा भयो । हरेक वर्ष भिसा थप्दा लाग्ने शुल्कबाट बच्न उहाँले नेपाली महिलासँग विवाहसमेत गर्नुभयो तर उहाँले सोचे जस्तो वैवाहिक सम्बन्ध चल्न सकेन । उहाँले जीवनको अन्तिम समयमा पनि अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका लागि काम गर्नुभएको थियो । नेपाल सरकारले दिने वृद्ध भत्ता र बेलायत सरकारबाट पाउने पेन्सन मासिक १२५ पाउन्डले उहाँको जीवन चलिरहेको थियो ।
पुतली बाजेले पुतलीबारे दर्जनौँ अनुसन्धानात्मक कृति लेख्नुभएको छ । पुतली र झ्याउँकिरीसम्बन्धी ३० भन्दा बढी किताब प्रकाशित छन् । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपाने उहाँको जीवनबाट नेपालीले पाठ सिक्नुपर्ने बताउनुहुन्छ ।