हिले समाचारदाता
हिले, कात्तिक १९ गते । धनकुटा नगरपालिकाको सुकेपोखरीमा स्थानीय सोमबहादुर शाहीले करिब चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्नुभएको छ । उहाँले लगाएको फूल ढकमक्क फुलेको मात्र छैन, फुलेर सुक्नसमेत थालेको छ ।
गत वर्ष फूलबाट राम्रै आम्दानी लिनुभएका शाही यो वर्ष भने आधा पनि आम्दानी नहुने हो कि भन्ने चिन्तामा हुनुहुन्छ । खेतमा रहेको फूललाई तिहारसम्म राख्न सकिँदैन कि भन्ने चिन्ता पनि उहाँलाई छ ।
उहाँले भन्नुभयो, “यो वर्ष तिहार मलमासले गर्दा पछि स¥यो तर फूल दसैँअघि देखि नै फुल्न थाले, अहिले ती फूल सुक्न थालेपछि त्यो तिहारसम्म रहन्छ कि रहँदैन भन्ने चिन्ता लागेको छ ।”
सोही स्थानका कृष्ण हमालले पनि करिब १५ रोपनीमा फूल खेती गर्नुभएको छ । उहाँको अवस्थामा पनि त्यस्तै छ । “म तीन चार वर्षयता फूल खेती गर्दै आएको छु । कहिले फूल छिट्टै फुलेर समस्या हुन्छ त कहिले ढिलो फुलेर,” उहाँले भन्नुभयो, “कागतिहारदेखि भाइटीकाको अघिल्लो दिनसम्म मात्र फूल बिक्री हुन्छ । त्योभन्दा अगाडि र पछाडि फुलेको फूल काम लाग्दैन ।”
छोटो समयमा राम्रो आम्दानी र बजारको समस्या नभएपछि तिहारलाई लक्षित गरी धनकुटामा फूल खेती बर्सेनि बढ्दै गएको छ तर प्राविधिक ज्ञानको कमीले कृषक भने बर्सेनि मारमा पर्ने गरेका छन् ।
फलफूल तथा तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका यहाँका कृषकले तिहारलाई लक्षित गरी गरिएको फूल खेती भने तिहारको खर्च जुटाउने मुख्य आम्दानीको स्रोत बन्ने गरेको छ ।
सुकेपोखरी तामाङ टोल, चिया पसल आससास करिब डेढ सय परिवारको बसोबास छ । सबैले अलि अलि भए पनि तिहारलक्षित फूल खेती गरेका स्थानीय मिलन खड्का बताउनुहुन्छ । तिहारमा व्यक्तिगत प्रयोजनका लागि मात्र लगाइने फूल खेतीले धनकुटामा एक दशकयता व्यावसायिक रूप लिएको छ ।