• १५ मंसिर २०८१, शनिबार

व्यावसायिक रूपमा फूल खेती

blog

मीना कँडेल 

कावासोती, कात्तिक १८ गते । प्राकृतिक फूलको आयात कम गर्न नवलपुर जिल्लामा व्यावसायिक फूल खेती सुरु गरिएको छ ।  तिहारमा  सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने गरिन्छ । नवलपुरका विभिन्न ठाउँमा व्यावसायिक फूल खेती गरिएको छ । तिहारका लागि महत्वपूर्ण मानिने सयपत्री फूलको बिक्री सुरु गरिएको छ  । 

कावासोतीका ६८ वर्र्षीय विष्णु पोख्रेलको दैनिकी अहिले फूल बगैँचामा बित्ने गरेको छ । पोख्रेल हरेक दिन बगैँचामा फूलको हेरचाहमा व्यस्त हुनुहुन्छ । कावासोती–९, वाकडोरमा पोख्रेलले लगाएका सयपत्री फूल ढकमक्क फुलेका छन् । तिहारका लागि फूल तयार भएकाले बगैँचाबाट प्रतिमालाको १५० र प्रतिकिलो छ सयका दरले लैजान सकिने उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “हामीले फार्ममा नेपाली र कर्मा (थाइल्यान्ड) प्रजातिका तीन हजार पाँच सय फूलका बिरुवा लगाएका छौँ । फूल बुकिङ गर्न व्यापारी, ग्राहक घरमै आउँछन् । ८० हजार रुपियाँको लगानीमा गरिएको फूल खेतीबाट यो वर्ष फूल बिव्रmी गरेर पाँच लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएका छाँै । फूल खेतीमा राम्रो सम्भावना भएकाले १६ कट्ठा जग्गा भाडामा लिएर सामूहिक फूल खेती गरिएको हो ।”

बाबु केसीले आत्मनिर्भर बन्न सामूहिक रूपमा फूल खेती सुरु गरेको बताउनुभयो । फूल बिक्रीबाट भएको आम्दानी फूल खेती गर्दा लागेको लगानी कटाएर बाँकी सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको केसीले बताउनुभयो । 

त्रिकन्या कृषि फार्म कावासोती–५ का सञ्चालक भेषराज गाहाले जिल्लामा उत्पादित फूल स्थानीय बजार र गाउँघरमा नै खपत गर्दै आएको बताउनुभयो । स्थानीय बजारका मागलाई मध्यनजर गर्दै कावासोती–७ की मिश्रा पराजुलीले तीन वर्षदेखि फूल उत्पादन गर्दै आउनुभएको छ । फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि उहाँले आफैँले माला बनाएर बजार र घरबाटै बेच्ने गर्नुभएको छ । 

जिल्लामा नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिले १० कट्ठा जमिनमा व्यावसायिक फूल खेती गरेको छ । वनले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी यहाँका किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नका लागि फूल खेती सुुरु गरेको हो । जिल्लामा उत्पादित फूल स्थानीय बजार र गाउँघरमा नै खपत गर्दै आएको नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टङ्कप्रसाद काफ्लेले बताउनुभयो ।

बाँदरले सताएपछि सयपत्री 

कुस्मा समाचारदाताका अनुसार पर्वतको बिहादी गाउँपालिकामा आफूले लगाएको अन्नबाली बाँदरले खाने र नष्ट पार्ने भएपछि हैरान भई एक कृषकले सयपत्री फूलको व्यावसायिक खेती गर्न थालेका छन् । बिहादी पालिका–६ मा पर्ने शालिग्राम निवासी ५३ वर्षे कृषक मेघनाथ भट्टराईले गरेको खेती पालिकामा नै पहिलो पटक गरिएको फूलको व्यावसायिक खेती बनेको छ ।  

कृषक भट्टराईले आफ्नो तीन हलको मेलो हुने बारीमा लगाएको फूल अहिले ढकमक्क फुलेको छ । बिहादी यसअघि मकै, भटमास, उवा, कोदो, बोडीलगायत अन्नबाली लगाउने बारीमा फूलको खेती गरिएको हो । सयपत्री फूलको खेतीका लागि बिउ खरिद, माटो गोडमेल, मलजल, फूलको बोटको टुप्पा काट्ने कार्यलगायत सबै गरी ६० हजार रुपियाँ खर्च गरेको बताइएको छ । पहिलो पटक फूलको व्यावसायिक खेती गर्नुभएका कृषक भट्टराई भन्नुहुन्छ, “मकै, कोदो, मासको खेती गर्दा बाँदरले खाएर नष्ट गरेपछि फूलको खेती सुरु गरेको हो । गाउँमा अन्नबाली लगाउन छाडेर फूलको खेती गरेको भनी सबैले खिसी गरेका थिए । अहिले फूल देख्दा सबै दङ्ग परेका छन् ।” 

बाँदरले नखाने भनी फूलको व्यावसायिक खेती गरेको भए पनि बाँदरले फूल भाँचेर दुःख दिने गरेपछि हेरालो बारम्बार बस्नु परेको कृषक भट्टराईको दुःखेसो छ । तिहारको समयमा सयपत्री फूल बिक्री गरी पाँच लाख रुपियाँ कमाइ गर्ने लक्ष्य लिएको बताउनुभयो । 

बिहादी गाउँपालिका–६ का अध्यक्ष मोहन बस्यालले भन्नुभयो, “पहिलो पटक व्यक्तिगत पहलमा सुरु गरिएको व्यावसायिक फूलको खेती राम्रो छ । फूल बिक्रीका लागि वडाले पनि सहजीकरण गर्ने छ । आगामी वर्षमा फूलको व्यावसायिक खेतीका लागि इच्छुक किसानलाई वडाले सघाउने छ ।”

आयात प्रतिस्थापन गर्ने उद्देश्य 

तनहुँ समाचारदाताका अनुसार यहाँको एक पालिकाद्वारा भारतीय फूल आयात प्रतिस्थापन गर्न व्यावसायिक फूल खेती गरिएको छ । आँबुखैरेनी गाउँपालिकाद्वारा ‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत व्यावसायिक फूल खेती थालिएको हो । 

चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै जाने हुँदा फूल खेती गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । यसको व्यावसायिक खेती गरी आर्थिक आम्दानीको बलियो स्रोतका रूपमा विकास गर्न सकिने भएकाले गाउँपालिकाले नमुनाका रूपमा खेती थालेको उहाँको भनाइ छ । अध्यक्ष चुमानले भन्नुभयो, “पुष्प व्यवसायबाट कृषकको आयआर्जन गर्न साथै विदेशबाट हुँदै आएको पुष्प आयातलाई प्रतिस्थापन गरी पुष्पमा आत्मनिर्भर बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।” 

पालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा आमा समूह र विद्यालयमार्फत फूल खेती गरिएको छ । कृषि क्षेत्रमा स्वरोजगारका अवसर सिर्जना गर्ने र रोजगारीका लागि बिदेसिने क्रम न्यूनीकरण गर्न कृषिलाई प्राथमिकतामा राखिएकाले अध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष चुमानले बताउनुभयो । यस कार्यक्रम अन्तर्गत २० लाख रुपियाँ विनियोजन गरी फूल खेती गरिएको उहाँले जानकारी दिनुभयो । उत्पादित फूल पूजाअर्चना, विवाहलगायतका शुभकार्यमा फूल बेचिरहेका छन् तर फूल बेच्ने मुख्य समय भने तिहार हो । फूलैफूलको पर्व तिहार सुरु भएसँगै उहाँहरूलाई फूल टिप्न, माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ ।

आँबुखैरेनी–१ स्थित यान्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता माध्यमिक परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार महिलालाई फूल खेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको हो । गत साउन २० गते रोपिएका बिरुवाबाट ढकमक्क फूल फुलेपछि बजारीकरण सुरु भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताउनुभयो । उक्त वडाका तीन स्थान गरी २६ हजार बिरुवाले उत्पादन दिन सुरु गरेको छ । फूल उत्पादन हुन थालेसँगै बजारका फूल व्यवसायीले स्थानीय उत्पादन किन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिका मातहत र सङ्घ संस्थाले आयोजना गर्ने कार्यक्रममा खादाको सट्टा फूलको माला प्रयोग गर्न समन्वय गरिएको केसीले जानकारी दिनुभयो । 

मालाको गुणस्तर हेरी थोकमा प्रतिमाला ४० देखि ६० रुपियाँमा बिक्री गर्ने योजना बनाइएको छ । बाहिरबाट आयात गरिने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा यहाँ उत्पादित फूल बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । व्यावसायिक फूल खेतीलाई निरन्तरता दिई महिलाको आय वृद्धि गराइने उहाँले बताउनुभयो । 

सोही वडास्थित धार्मिक पर्यटकीय स्थल आँधीमूल वराहमा लाग्ने मेलामा पनि सयपत्री फूल खेतीले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यहाँ सुरु गरिएको फूल खेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगर बताउनुहुन्छ । 

सहकारी पनि सक्रिय 

वालिङ समाचारदाताका अनुसार  स्याङ्जाको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेको छ । सामान्य कार्यक्रमदेखि पूजामा समेत प्रयोग हुने सयपत्री फूल र माला बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्न वालिङ नगरपालिका–१ मा सयपत्री फूलको व्यावसायिक खेती गरिएको सहकारीका अध्यक्ष दीपेन्द्र गैरेले जानकारी दिनुभयो । सहकारीले १० रोपनी जग्गा भाडामा लिएर फूल खेती सुरु गरेको हो । 

अध्यक्ष गैरेले भन्नुभयो, “सामान्य कार्यक्रममा अतिथिलाई लगाउने मालादेखि पूजापाठमा प्रयोग गरिने फूलसमेत बाहिरी जिल्लाबाट मगाउनुपर्ने अवस्था रहेकाले हामीले फूल खेती गरेका हौँ । अहिले सहकारीले रोपेको फूल ढकमक्क फुलेको छ ।” वालिङ बजारमा नै यसको माग पनि उच्च रहेको अध्यक्ष गैरेको भनाइ छ । 

नगरपालिकामा नै पहिलो पटक सहकारीमार्फत गरिएको फूल खेतीबाट यो वर्ष पाँच लाख आम्दानी गर्ने सहकारीको योजना छ । 

तिहारका लागि लक्षित गरेर फूलको माला तयारीको काम सुरु भइसकेको सहकारीका सचिव दोलराज गैरेले जानकारी दिनुभयो । कुनै विषादीको प्रयोग नगरी शुद्ध अर्गानिक खेती पद्धतिमार्फत फूल खेती गरेकाले पनि फूलको माग बढिरहेको गैरेको भनाइ छ । तिहारका लागि अग्रिम फूल र मालाका लागि अडर आइसकेको गैरेले बताउनुभयो । 

यो वर्षको तिहारमा मात्रै १० हजार माला तयार गर्ने सहकारीको लक्ष्य छ । यसअघि नै विभिन्न कार्यक्रम र दसैँमा एक हजार माला र पाँच सय केजी फूल बिक्री भइसकेको अध्यक्ष गैरेले बताउनुभयो । सहकारीले प्रतिमाला १२० रुपियाँमा र प्रतिकिलो फूल ३५० रुपियाँमा बिक्री गर्दै आएको जनाएको छ । सहकारीका अध्यक्ष गैरेका अनुसार सयपत्री फूल खेतीको लक्ष्य नै बाहिरबाट माला र फूल आयात घटाउनु हो । जिल्लाभर यहाँकै फूल र माला पु¥याउने सहकारीको लक्ष्य छ ।