• १८ वैशाख २०८१, मङ्गलबार

लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय

blog

फाइल तस्बिर

म्याग्दी, कात्तिक १६ गते । केही वर्षअघिसम्म असोज-कात्तिक र चैत-वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् । पर्यटकको ‘पिक सिजन’ असोज-कात्तिकको याममा पछिल्लो पाँच वर्षयता उहाँलाई पहिलेको जस्तो भ्यानभ्याइ छैन् ।

घोडेपानीकै होटल व्यवसायी सपना गुरुङ पनि जुली जस्तै फुर्सदिलो हुनुहुन्छ । कोरोना भाइरसको महामारी फैलिएपछि सुस्ताएको घोडेपानीको पर्यटन आगमन र होटल व्यवसाय अझै लयमा फर्कन सकेको छैन । 

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको विभिन्न गन्तव्यमा जाने नाकामा रहेको घोडेपानी नेपालकै प्रसिद्ध पर्यटकीयस्थल हो । कोरोनाले थला परेको पर्यटक आगमन पुरानोलयमा फर्कन नसक्दा होटल व्यवसाय प्रभावित बनेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो । “पहिला याममा सबै होटल पाहुनाले भरिभराउ हुन्थे । अहिले दुई चार वटामा मात्र पाहुना छन् । त्यही पनि नियमित छैन,” उहाँले भन्नुभयो “कोरोना महामारीको समयको तुलनामा अहिलेको पर्यटक आगमन राम्रो त हो तर कोरोना शुरु हुनु अघिको जस्तो छैन ।” 

घोडेपानी आसपासको उल्लेरी, तिखेढुङ्गा, चित्रे, शिख क्षेत्रका होटल व्यवसायीको अवस्था झन नाजुक छ । घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने क्षमताका साना ठूला गरी ३० होटल छन् । दसैँ-तिहारको याममा घोडेपानीमा स्वदेशी पर्यटकको चाप पनि उत्तिकै हुने गरेको थियो । घोडेपानीको होटल व्यवसायी ज्ञानबहादुर पुनले कोरोना महामारीपछि विश्वव्यापीरुपमा देखिएको आर्थिक मन्दिको असर पर्यटक आगमन र होटल व्यवसायमा परेको बताउनुभयो । “कोरोनाले सबैको आम्दानीमा असर गरेको छ । आम्दानी कम हुँदा घुमघाम गर्न निस्कने घटेका हुन,” उहाँले भन्नुभयो “आएकाले पनि खर्च र भ्रमण गर्ने समय छोट्याएका छन् ।”

वि.सं.२०८० सुरु भएयता म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रमा पन्ध्र हजार जना विदेशी पर्यटकले भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पर्यटक प्रहरी हबल्दार रामबहादुर खत्रीका अनुसार वि.सं.२०७९ मा २६ हजार तीन सय ११ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका थिए । कोरोना अघि वार्षिक ६० देखि ७० हजार पर्यटक आउने गरेका थिए । समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी-उल्लेरी, छोम्रोङ-घान्द्रुक-टाडापानी हुँदै र नागी-महरे हुँदै गरी चार वटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् ।

म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारीसाधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । विदेशी पर्यटक आगमन कम भएकाले नेपाली पर्यटकलाई आकर्षित गराउन छुटको कार्यक्रम ल्याएका छन् । घोडेपानी जोड्ने पोखरेबगर-चित्रे सडक कालोपत्रको अन्तिम चरणमा रहेकाले सडक मार्गबाट आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिका-६ का वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । रासस