• ६ जेठ २०८१, आइतबार

विद्युतीय झिलिमिलिको चुनौतीमा पाला

blog

मोरङको रंगेली नगरपालिकास्थित आपगाछीमा पाला बनाउँदै कुमालहरु । तस्बिर : नवराज कट्टेल

नवराज कट्टेल
विराटनगर, कात्तिक १६ गते ।
हिन्दु धर्मालम्बीहरुको महान चाड दसैं सकिएसँगै दोस्रो ठूलो चाड तिहार नजिाकिँदै गएको छ । तिहार नजिकिएसँगै तराईको विशेष पर्व छठ समेत जोडिएर भित्रन्छ ।

चाडपर्वहरु नजिकिँदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदाय माटाका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ । लक्ष्मीपुजा र छठमा बढी प्रयोग हुने दियो–कलश, पाला, ढक्ना जस्ता सामग्री बनाउन उनीहरु व्यस्त छन् ।

मोरङको रंगेलीस्थित आमगाछी र सुनवर्षी नगरपालिकाको कदमगाछीमा २४ घरधुरी कुमाल समुदायअन्तर्गत पण्डित जातीको बसोबास रहेको छ । उनीहरुले माटोबाट दियो, घैला, सीया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढक्ना, दलिया, पाला, कलश जस्ता सामग्री बनाउँदै आएका छन् । उनीहरुको यसैबाट जीविकोपार्जन चल्छ ।


तिहार र छठमा यी सामग्रीको विशेष माग हुने भएका कारण दसैं सकिएसँदै उनीहरुले ध्यान काममा केन्द्रित हुन्छ ।

‘‘समयमा नयाँ–नयाँ प्रविधिको विकाससँगै यो पेसा सङ्कटमा पारिरहेको छ,’’ आमगाछी रंगेलीका विरेन पण्डितले भन्नुभयो, ‘‘विद्युतीय झिलिमिलि भित्रियो, दियो र पालाको माग घट्यो । तर मान्यता भने हटेको छैन ।’’

उहाँका अनुसार जतिसुकै ठूला महलमा विद्युतीय झिलिमिलि लगाएपनि दियो, घडा र पाला बिना तिहार मनाउने प्रचलन हटिसकेको छैन । तर यसको सङ्ख्यात्मक प्रयोग भने घटेको उहाँको बुझाइ छ । पण्डितका अनुसार पहिलो र दोस्रो चरणमा उत्पादन गरेका सामग्री बजारमा पठाई सकिएको छ ।


पुर्खौली पेसा भएका कारण पण्डित १० वर्षयता यहि काम गरेर जीविकोपार्जन चलाउँदै आएको बताउनुहुन्छ । तर पछिल्लो १० वर्षमा पालाको जमानामाथि इलेक्ट्रोनिक वस्तुले चुनौती थपिदिएको उहाँको भनाइ छ ।

पुर्खाले गरेको सीपयुक्त पेसालाई अङ्गाल्दै भएको सुरेश पण्डित बताउनुहुन्छ । उहाँले माटोको काममा मेहनत र खर्च धेरै रहेको बताउनुभयो । माटो, पराल र दाउरा किन्नुपर्दा अपेक्षा गरेजति कमाई नहुने उहाँको भनाइ छ । माटोका सामग्री मेहनतका लागि बनेपछि त्यसलाई घाममा २४ घण्टा र आगोमा ७२ घण्टासम्म पकाउने पर्ने उहाँहरु बताउनुहुन्छ ।


तिहारका लागि दियो र घडाको माग बढी हुन्छ । छठमा समेत तिहारमा जतिकै सामग्रीको माग हुने गरेको छ । उहाँहरुले एक दर्जन पाला ६० रुपिँयामा बिक्री गर्नेगरेको बताउनुभयो ।

रंगेली नगरपालिका उपप्रमुख झुमा पराजुलीका अनुसार नगरपालिका भित्र रहेका १२ घरधुरी परिवारलाई लक्षित गरेर माटाका भाँडा बनाउँदा माटो मुछ्ने लगायतका कामका लागि विद्युतीय मेसिन उपलब्ध गराइएको जानकारी दिनुभयो । पेसा टिकाउन र आत्मानिर्भरता बढाउनका लागि स्थानीय सरकारले मेसिन र माटोका लागि छ कठ्ठा जग्गा समेत उनीहरुलाई उपलब्ध गराएको उपप्रमुख पराजुलीको दाबी छ ।