विजयकुमार साह
ढल्केवर, कात्तिक १५ गते । धनुषाको मिथिला नगरपालिकास्थित जङ्गल नजिक बस्तीमा हात्तीको त्रास बढेको छ । बस्ती नजिककैको जङ्गलमा दैनिकजसो हात्ती देखिन थालेपछि त्रास बढेको हो ।
नगरपालिकाको–७ स्थित पोखरी दमार सामुदायिक वन क्षेत्रमा एउटा हात्ती देखिएको सबडिभिजन वन कार्यालय लालगढका वन अधिकृत मदन चौधरीले बताउनुभयो । विगत चार दिनदेखि सो क्षेत्रमा हात्ती रहेको बताउँदै उहाँले अहिलेसम्म बस्ती प्रवेश नगरेको र मानवीय क्षति नभएको जानकारी दिनुभयो ।
हात्ती देखिन थालेपछि जङ्गलमा घाँस दाउरा गर्न जानेलाई सामुदायिक वनका पदाधिकारी तथा वन कर्मचारीले सजग रहन आग्रह गरेका छन् । जङ्गलतिर जाँदा वा रातिको समयमा जङ्गल छेउका बस्तीवासीलाई सचेत रहन आग्रह गरिएको वन अधिकृत चौधरीले बताउनुभयो ।
“हामीले सकेसम्म जङ्गलतिर नजान, घाँस दाउराका लागि जानुपर्ने भए सतर्कता अपनाउन भनेका छौँ” उहाँले भन्नुभयो, “गाउँमा हात्ती पसिहाले होहल्ला गर्ने, आगो बाल्ने र भाँडाकुँडा ठटाएर धपाउन सकिन्छ ।”
जङ्गली हात्तीले ढल्केबरमा बर्सेनि क्षति गर्दैआएको छ । अघिल्लो वर्ष सात वटा घरमा क्षति गरेको थियो भने दुई वर्षअघि हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको थियो ।