काठमाडौं, कात्तिक १५ गते । एक थान पेस्तोल, तीन थान गोली, ब्राउन सुगर जस्तो देखिने पदार्थ दुई सय ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो ।
उहाँका अनुसार स्थायी घर भारत वृष्ट बङ्गाल, नक्सलबारी रही हाल काठमाडौँको मनोहरा बस्ने ४८ वर्षीय मोशमद करिम र स्थायी घर झापा कचनकवल गाउँपालिका–७ भई हाल काठमाडौँ बस्ने ३७ वर्षीय हर्क बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूबाट ५० हजार रुपियाँ बरामद गरिएको र पक्राउ परेका लिम्बु २०७४ चैत २९ गते मानव बेचबिखन मुद्दामा कारबाही भई पाँच वर्ष जेल भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ ।