काठमाडौं, कात्तिक १५ गते । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा निर्णय सुनाउने भएको छ ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गर्नुभएको थियो ।
रिगल बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका थिए । रिगलले आममाफी पाएपछि चेतनकी श्रीमती भारती शेर्पाले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।