काठमाडौं, कात्तिक १५ गते । काठमाडौँ, कात्तिक १५ गते । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका–५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेकोले कारबाहीको लागि नेपाली सेनाबाट पत्राचार भएपश्चात् साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएको जनाएको छ । प्रहरीले खनाललाई काठमाडौँबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।