नन्द सिंह
रलिङ (हुम्ला), जेठ २७ गते । खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । यस आर्थिक वर्षका लागि खार्पुनाथ गाउँपालिकालाई खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुरक्षित भविश्य भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषोणा गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले ५ वटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको छ ।
गाउँपालिका भरिका खोप लगाउने सबै उमेर समूह ०–५९ महिना सम्मका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै आइतबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरीभक्त शाहीले बताउनुभयो ।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा आगामी दिनमा खार्पुनाथ गाउँपालिकाका बालबालिकाले खोप लगाउनबाट बञ्चित भएको सुन्न नपरोस, पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रमले निरन्तरता पाओस भन्ने आग्रह पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रममा उपस्थित सबै अथितीहरूले बताएका थिए ।
यस अघिका आमाहरू अशिक्षित भएका कारण गाउँ घरको स्थानिय परम्परालाई मात्र बढी जोड दिँदै नियमित खोप भन्दा कामलाई ध्यान दिने गरेको भए पनि पछिल्लो समयका आमाहरूले आफुसँगै बालबालिकाको स्वास्थ्यको ध्यान दिने गरेकाले समेत पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहज भएको नेपाल पत्रकार महासंघ हुम्लाका सचिब नन्द सिंहले बताउनुभयो । उहाँले एक गाउँभन्दा अर्को गाउँ र बर्खाको समयमा गाई गोरु राख्ने हिमाली भेगमा गएका बालबालिकाहरू छुटाउन नहुने सुझाव दिनुभएको थियो ।
पूर्ण खोप सुनिश्चित घोषणा गर्नु मात्रै ठुलो कुरा होइन यसलाई निरन्तरता दिनु सबैको कर्तव्य भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक कर्णबहादुर रावलले बताउनुभयो । अध्यक्ष रावलका अनुसार आगामी दिनमा गाउँपालिकाका सबै सरोकारवाला निकायले अभियानकै रूपमा लाग्न आवश्यक रहेको बताउनुभयो ।