ज्ञानु पंगेनी
मध्यविन्दु, जेठ २७ गते । नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासस्थित विनयी खोलामा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेबाट सञ्चालन हुने भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व (नवलपुरको) सबैभन्दा लामो २ सय ४५ मिटर दुरीको विनयी खोलाको पुरानो फलामे पुल भाँचिएपछि यस क्षेत्रमा यातायात आवतजावतमा असहज भइरहेको छ । अबको केही दिनमा नयाँ पुलबाटै यातायात सञ्चालन गर्न सकिने भएपछि यात्रा सहज हुने छ ।
बुटवल नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो । पुल ढलान गरेको २८ दिनपछि मात्र पुलले भारबहन क्षमता अनुसारको काम गर्ने भएकाले असार १४ गतेबाट यसै नयाँ पुलबाट नै गाडी आवतजावत गर्न मिल्ने सूचना अधिकारी खनालले जानकारी दिनुभयो ।
गत वर्षको पुस २६ गते अत्यधिक भार बोकेको भारतीय ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो पुल भाँचिएपछि अहिले डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । वर्षा हुँदा पटक पटक उक्त डाइभर्सन पनि बगाउँदा आवागमन नै ठप्प हुँदै आएको छ । यस अघि दुई पटकसम्म डाइभर्सन बगाइसकेको छ ।
विनयी खोलामा रहेको पुरानो फलामे पुल ५२ वर्षअघि निर्माण भएको थियो ।
मध्यविन्दु नगरपालिकाको ७ र ८ नंं वडा जोड्ने गिरुवारी खोलाको पुल समेत वैशाख २९ गते राति, बढी तौल बोकेको ट्रक गुड्दा भाँचिएको थियो । उक्त पुल मर्मत गरेर २५ दिनपछि गत शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ ।