• २२ वैशाख २०८१, शनिबार

आयात रोक्न सहकारीद्वारा फूलखेती

blog

स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ मा सहकारीले गरेको फूलखेती । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक १६ गते । स्याङ्जाको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेको छ । सामान्य कार्यक्रमदेखि पूजामा समेत प्रयोग हुने सयपत्री फूल र माला बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्न वालिङ नगरपालिका–१ मा सयपत्री फूलको व्यावसायिक खेती गरिएको सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले जानकारी दिनुभयो । सहकारीले १० रोपनी जग्गा लिजमा लिएर फूलखेती सुरु गरेको हो ।

सामान्य कार्यक्रममा अतिथिलाई लगाउने मालादेखि पूजापाठमा प्रयोग गरिने फूलसमेत बाहिरी जिल्लाबाट मगाउनु पर्ने अवस्था रहेकाले हामी फूलखेती गरेका हौं अध्यक्ष गैह्रेले भन्नुभयो । अहिले सहकारीले रोपेको फूल ढकमक फूलेको छ । वालिङ बजारमा नै यसको माग पनि उच्च रहेको अध्यक्ष गैह्रेको भनाइ छ ।

नगरपालिकामा नै पहिलो पटक सहकारी मार्फत गरिएको फूलखेतीबाट यो वर्ष पाँच लाख आम्दानी गर्ने सहकारीको योजना छ ।

तिहारका लागि लक्षित गरेर फूलको माला तयारीको काम सुरु भइसकेको सहकारीका सचिव दोलराज गैह्रेले जानकारी दिनुभयो । कुनै विषादीको प्रयोग नगरी शुद्ध अर्गानिकखेती पद्धतिमार्फत् फूलखेती गरेकाले पनी फूलको माग बढिरहेको गैह्रेको भनाइ छ । तिहारका लागि अग्रिम फूल र मालाको लागि अर्डर आइसकेको गैह्रेले बताउनुभयो ।

यो वर्षको तिहारमा मात्रै १० हजार माला तयार गर्ने सहकारीको लक्ष्य छ । यस अघि नै विभिन्न कार्यक्रम र दसैंमा एक हजार माला र पाँच सय केजी फूल बिक्री भइसकेको अध्यक्ष गैह्रेले बताउनु भयो । सहकारीले प्रति माला १२० मा र प्रति किलो फूल ३५० मा बिक्री गर्दै आएको जनाएको छ ।

सहकारीका अध्यक्ष गैह्रेका अनुशार सयपत्री फूलखेतीको लक्ष्य नै बाहिरबाट माला र फूलआयात घटाउनु हो, जिल्ला भर यहाँकै फूल र माला पु¥याउने सहकारीको लक्ष्य छ ।

फूलखेती गर्न सहकारीका सदस्यलाई तालिम प्रदान गरिएको छ भने फूलको गोडमेल तथा सुरक्षाका लागि कर्मचारी नै खटाइएको छ ।

अहिले बाहिरबाट बीउ ल्याएर लगाइएको भन्दै अध्यक्ष गैह्रेले भविस्यमा सहकारीले बीउ पनि उत्पादन गर्ने योजना बनाएको जानकारी दिनुभयो । बीउ र लिजमा लिएको जग्गाको मूल्य जोड्दा अहिले सम्म एक लाख हाराहरी खर्च भएको सहकारीको भनाइ छ ।

सयपत्री फूललाई बाह्रै महिना फूलाउन सकिने भएकाले सिजन–सिजनमा यसलाई रोप्नका लागि तयारी गरिएको छ । बीउ रोपेको पाँच महिनामा यसले उत्पादन दिन सुरु गर्ने जनाइएको छ ।

एता स्याङ्जाको कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिकाले व्यावसायीक रुपमा फूलको खेती गर्दै र कृषकलाई यसप्रति आकर्षण गराउँदै आएका छन् । अन्य पालिकाहरुले पनि फूलखेतीलाई जोड दिँदै आएका छन् ।